झापा — बिर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक सिमल तरुलको झाडीभित्र फालिएको अवस्थामा एक थान इन्सास हतियार फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्र खड्काका अनुसार उक्त इन्सास हतियार इलाका प्रहरी कार्यालय अनारमनिबाट जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते लुटिएको हो। फेला परेको इन्सास थान १९, क्रम सङ्ख्या ०३११००८७२०, म्याग्जिन १ थान, १९ राउन्ड सावुत र २ राउन्ड बेसावुत गोली बरामद गरिएको उनले जानकारी दिए।
प्रहरीका अनुसार बिर्तामोड क्षेत्रका स्थानीयले शंका लाग्दा प्रहरीलाई खबर गरेपछि उक्त हतियार बरामद गरिएको हो। यसअघि पनि झापाका विभिन्न स्थानमा बेवारिसे अवस्थामा आन्दोलनका बेला लुटिएका हतियारहरू फेला परिरहेका छन्।
जिल्ला प्रहरी कार्यालयका तथ्यांकअनुसार जेनजी आन्दोलनका क्रममा झापामा विभिन्न प्रकारका १०३ थान हतियार लुटिएका थिए। तीमध्ये हालसम्म ८१ थान हतियार फेला परिसकेका छन् भने इलाका प्रहरी कार्यालय दमक र अनारमनिबाट लुटिएका २२ थान हतियार अझै बेपत्ता छन्।
