मोरङ — मोरङको जहदा गाउँपालिका–३ बाट लागूऔषध गाँजा ओसारपोसारमा संलग्न दुई जनालाई प्रहरीले एम्बुलेन्ससहित नियन्त्रणमा लिएको छ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको संयुक्त प्रहरी टोलीले स १ च ६५६ नम्बरको एम्बुलेन्स जाँच गर्ने क्रममा कालो रंगको झोलामा लुकाएर राखिएको ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो।
प्रहरीका अनुसार उक्त लागूऔषधसहित एम्बुलेन्स चालक विराटनगर–५ का ३२ वर्षीय दुर्गा प्रसाद राजवंशी र त्यसै एम्बुलेन्ससँगै चलिरहेको को ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का ३२ वर्षीय दिलिप कुमार राजवंशीलाई पक्राउ गरिएको छ।
बरामद गाँजा र दुवै पक्राउ परेकामाथि अहिले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
