विराटनगर । सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयनको माग गर्दै नोबेल शिक्षण अस्पतालका स्वास्थ्यकर्मीहरू पुनः आन्दोलनमा उत्रिएका छन्। ‘धम्की र श्रम शोषण बन्द गर’ जस्ता नारासहित उनीहरूले बुधबार बिहानैदेखि अस्पताल परिसरमा प्रदर्शन थालेका हुन्।
यसअघि पनि उनीहरूले आन्दोलन गर्दै अस्पताल प्रशासनलाई आफ्ना माग पूरा गर्न कार्तिक १८ गतेसम्मको समयसीमा दिएका थिए। तर प्रशासनले त्यसबीच कुनै कदम नचालेपछि स्वास्थ्यकर्मीहरू पुनः सडकमा उत्रिएका हुन्। आन्दोलनको नेतृत्व गरिरहेकी स्वाती देवका अनुसार प्रशासनले बारम्बारको चेतावनीलाई बेवास्ता गरेकोले बाध्य भएर आन्दोलन गर्नुपरेको हो।
देवले भनिन्, “अस्पतालले हाम्रो आवाजलाई वेवास्ता गरेको छ, त्यसैले अहिले आकस्मिक र आइसियूबाहेकका सबै सेवामा कार्यरत स्वास्थ्यकर्मी आन्दोलनमा छन्। माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ।”
स्वास्थ्यकर्मीहरूको मुख्य माग सरकारले तोकेको न्यूनतम तलब पाउनु रहेको छ। यता अस्पताल प्रशासनले भने वार्ताको लागि आह्वान गरे पनि स्वास्थ्यकर्मीहरू वार्तामा नआएको दाबी गरेको छ। प्रशासनका अनुसार समस्या समाधानका लागि संवादका ढोका खुला रहेका छन्।
