विराटनगर । सशस्त्र प्रहरीले पाएको गोप्य सूचनाका आधारमा जाँचपास भइसकेको एक ट्रकलाई विराटनगर भन्सार कार्यालय परिसरमै नियन्त्रणमा लिएको छ । उक्त ट्रकमा बिलमा उल्लेख नभएको अतिरिक्त मालसामान (क्यारिङ) राखिएको आशंकामा नियन्त्रणमा लिइएको हो ।
भन्सार जाँचपासमा संलग्न भन्सार एजेन्टका प्रतिनिधि कुन्दन मण्डललाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय रानीमा हिरासतमा राखेको छ । मण्डलले एजेन्ट चेतनाथ पौडेलको फारमबाट उक्त मालवस्तु जाँचपास गराएका थिए ।
सशस्त्र प्रहरी स्रोतका अनुसार, बिलमा उल्लेख नभएका अतिरिक्त सामान राखिएको सूचना प्रहरीको डिआईजीसम्म पुगेपछि तुरुन्तै भन्सार गस्ती टोलीलाई कारबाहीका लागि निर्देशन दिइएको थियो । त्यसपछि गाडी नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो ।
हाल विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी बिमलकुमार साहका अनुसार, ट्रक र त्यसमा रहेको सामानको प्रारम्भिक अनुसन्धान सुरु भएको छ । इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक कविन राईले भने, “भन्सार कार्यालयले नियन्त्रणमा लिएर मण्डललाई अनुसन्धानका लागि हामीकहाँ पठाएको हो ।”
हालै सशस्त्र प्रहरी बलका डीएसपी खतिवडाको नेतृत्वमा भन्सार क्षेत्रमा तस्करी नियन्त्रण कडा पारिएपछि, विभिन्न जुक्ति लगाएर भन्सार परिसरबाटै ‘क्यारिङ’ हुने क्रम देखिएको बताइन्छ । भन्सारमा कडाइ कमजोर हुँदा एजेन्ट र आयातकर्ताबीच ‘सेटिङ’मा सामान पास गर्ने चलन फैलिएको स्रोतले जनाएको छ ।
