सुनसरी । भदौ २४ गतेको जेनजी आन्दोलनपछि सुनसरीस्थित झुम्का कारागारमा उत्पन्न अराजक अवस्थाका कारण एकैपटक निस्केका कैदीबन्दीमध्ये धेरैले आत्मसमर्पण गरे पनि अझै ठूलो संख्यामा कैदी फरार रहेका छन् ।
कारागार प्रशासनका अनुसार हालसम्म १ हजार ७५९ मध्ये १ हजार २५९ जना कैदीबन्दी पुनः आत्मसमर्पण गरी कारागार फर्किएका छन् । तर अझै ५७२ जना कैदी फरार रहेको र उनीहरूको ठेगाना नखुलेको जेलर सुवास लामिछानेले जानकारी दिए ।
फरारमध्ये ४९ जना भारतीय नागरिक रहेका छन् । झुम्कामा रहेका ६१ भारतीय कैदीमध्ये १२ जना मात्र पुनः फर्किएको कारागार प्रशासनले जनाएको छ । बाँकी कैदीहरू नेपालका विभिन्न स्थानमा लुकीछिपी बसेको अनुमान गरिएको छ ।
भदौ २४ गते राति आन्दोलनका क्रममा भीड नियन्त्रणमा असफल भएपछि झुम्का कारागारको सुरक्षा प्रणाली पूर्ण रूपमा भत्किएको थियो । सो क्रममा करिब १ हजार ७९६ कैदीबन्दी बाहिरिएका थिए । त्यसपछि प्रहरीले सशस्त्र प्रहरी र प्रशासनसँग मिलेर फरार कैदीहरूको खोजी अभियान सञ्चालन गरेको छ ।
प्रशासनले असोज २० गतेसम्म स्वेच्छाले आत्मसमर्पण गर्न सूचना जारी गरे पनि तोकिएको म्याद सकिएपछि पनि सयौं कैदी अझै फर्किएका छैनन् । यस अवस्थाले प्रहरी र कारागार प्रशासन दुबैका लागि ठूलो चुनौती थपेको छ ।
