विराटनगर – मोरङको बुढीगंगा गाउँपालिका–२ मा अवस्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा पछिल्ला दिनमा रगतको गम्भीर अभाव देखिएको छ । हस्पिटलमा उपचाररत बिरामीका लागि आवश्यक रगत सहज रूपमा उपलब्ध हुन नसक्दा आकस्मिक उपचारसमेत प्रभावित भएको छ ।
ब्लड बैंकका इन्चार्ज प्रविण दाहालका अनुसार दशैँपछिको समयमा सबै समूहका रगतको अभाव देखिएको छ । उनका अनुसार, हाल दैनिक माग हुने करिब १०० देखि १२० पिन्ट रगत मध्ये मुश्किलले १५ देखि २० जनाले मात्र रक्तदान गरिरहेका छन् ।
दाहालले भने, “दशैँपछीका सामाजिक रक्तदान कार्यक्रमहरू ठप्प भएपछि रगत संकलन घटेको हो । विराटनगरमा ठूला अस्पतालहरू रहेका कारण बिरामीको चाप बढी छ, त्यसैले माग पनि अत्यधिक हुन्छ ।”
रगतको अभावका कारण दुर्घटनाका घाइते, गर्भवती, सुत्केरी, शल्यक्रियाका बिरामी र दीर्घ रोगीहरू बढी प्रभावित भएका छन् । चिकित्सकले रगत आवश्यक ठहर गरेपछि बिरामीका आफन्तहरू सम्बन्धित समूहको रगत खोज्न विभिन्न ठाउँ धाउन बाध्य भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी मोरङका अनुसार, माग अत्यधिक र आपूर्ति न्यून हुँदा विराट मेडिकलसहित विराटनगरका अन्य अस्पतालहरू पनि रगत संकटको अवस्थामा पुगेका छन् ।
हस्पिटल प्रशासनले आफ्ना सम्पूर्ण कर्मचारीहरूलाई रक्तदान गर्न आग्रह गरेको छ भने सर्वसाधारणलाई पनि नजिकको ब्लड बैंकमा गई रक्तदान गर्न अनुरोध गरेको छ । इच्छुक रक्तदाताले ९८०२७०९०८१ नम्बरमा सम्पर्क गरी रक्तदान गर्न सक्ने व्यवस्था गरिएको हस्पिटलले जनाएको छ ।
