काठमाडौं — आगलागी र तोडफोडका कारण एक महिना भन्दा बढी समयदेखि ठप्प भएको सर्वोच्च अदालतको नियमित सेवा आजदेखि पुनः सञ्चालनमा आएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको नेतृत्वमा बसेको पूर्ण बैठक (फुल कोर्ट) ले असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ पुनः सुरु गर्ने निर्णय गरेको हो।
“यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अनुसारका निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछन्। साथै अदालतका अन्य नियमित सेवा प्रवाहका म्याद, हदम्याद र तारेख नगुज्रने गरी अर्को सूचना नआएसम्मका लागि व्यवस्था गरिएको छ।”
गत भदौ २४ गतेको ‘जेन–जी’ आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी, ढुंगामुढा र लुटपाट भएको थियो। उक्त घटनापछि अदालतको मुख्य भवन र अभिलेख कक्षमा रहेका करिब ९० प्रतिशत फाइल नष्ट भएपछि बन्दी प्रत्यक्षीकरणका निवेदनबाहेक अन्य सबै सेवा स्थगित गरिएको थियो।
त्यसपछि सर्वोच्चले अस्थायी रूपमा टेन्ट (त्रिपाल)मा इजलास चलाउँदै अत्यावश्यक सेवा प्रदान गरिरहेको थियो। अहिले भवन मर्मत र अभिलेख व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको र अदालत पूर्ण रूपमा सञ्चालनमा फर्किने तयारीमा रहेको सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिएका छन्।
