सुनसरी- मोरङको रंगेली नगरपालिका–५ मा पारिवारिक विवादले भयावह रूप लिँदा एक दम्पतीको ज्यान गएको छ। रंगेली–५ बहुवनका अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले ससुराली घरमै पत्नीको हत्या गरेपछि आफैंले पनि आत्महत्या गरेका छन्।
इलाका प्रहरी कार्यालय रंगेलीका अनुसार मुकेश सोमबार साँझ धनपट्टीस्थित ससुराली पुगेका थिए। प्रारम्भिक अनुसन्धानमा घरेलु विवाद चर्किँदै जाँदा कुटपिट भएको र त्यसक्रममा मुकेशले चक्कु प्रहार गर्दा उनकी पत्नी अन्दाजी २१ वर्षीया अम्बिकाकुमारी मण्डलको घटनास्थलमै मृत्यु भएको खुलेको छ।
पत्नीको मृत्यु भएपछि मुकेशले सोही चक्कु प्रयोग गरी आत्महत्या गरेको प्रहरीको भनाइ छ।
इलाका प्रहरी कार्यालय रंगेलीका डीएसपी लीलाराज लामिछानेले घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का उठाउनेलगायत कानुनी प्रक्रिया अगाडि बढाइएको जानकारी दिए। घटनाको वास्तविक कारण, पृष्ठभूमि र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण अनुसन्धानपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।
