सुनसरी – विराटनगरको मेरिलेवन ज्वाला क्रिकेट मैदानमा भएको प्रथम कोशी एलाइट कप क्रिकेट प्रतियोगिता को उपाधि मोरङले झापामाथि २७ रनको जित निकाल्दै कब्जा गरेको छ। शनिबार सम्पन्न फाइनलमा मोरङले टस हारेर ब्याटिङ गर्दै निर्धारित ४३ ओभरमा सबै विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।
मोरङका लागि कृतिक कामतले ३४ रन, प्रतिक पोखरेल २६, शाकिव हक २४, कप्तान दिपेश कँडेल १९, प्रेम कामत १३ अविजित, र आइस्टाइन रिजाल १० रन बनाए। झापाका लागि आयुस न्योपाने ३ विकेट लिए भने कप्तान सुजन थपलिया, सौजनप्रसाद घिमिरे र विपिन महतोले २–२ विकेट लिए।
झापाले १ सय ७५ रनको लक्ष्य पछ्याउँदा पुरै ओभर खेल्दै ९ विकेट गुमाएर मात्र १ सय ४७ रन बनाउन सक्यो। झापाका आसिक राना मगर ४३ रन, फैजल रहमान २२, आयुस न्योपाने ११, र दिपु भुलेल तथा भुपाल दंगालले १०–१० रन जोडेका थिए। मोरङका फिर्दोस अन्सरीले ३ विकेट लिए भने कप्तान दिपेश कँडेल र प्रेम कामतले २–२ विकेट लिए।
फाइनलको प्लेयर अफ द फाइनल मोरङका कप्तान दिपेश कँडेल घोषित भए। उत्कृष्ट ब्याटरको उपाधि कृतिक कामत, उत्कृष्ट बलर प्रेम कामत, र प्लेयर अफ द सिरिज को सम्मान पनि कप्तान कँडेल ले जिते।
विजेताहरुलाई पुरस्कार तथा प्रमाणपत्र कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुली, कोशी प्रदेश क्रिकेट संघ अध्यक्ष सर्वजितराज पाण्डे, र मोरङ जिल्ला क्रिकेट संघ अध्यक्ष महमद साद बाबुल लगायतले वितरण गरे।
