सुनसरी— कोशी प्रदेश सरकारले प्रदेश सभाको आगामी हिउँदे अधिवेशन माघ २५ गतेदेखि आह्वान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले दिउँसो २ बजेदेखि अधिवेशन सुरु गर्ने गरी प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको आन्तरिक मामला तथा कानुनमन्त्री इन्द्रमणि पराजुलीले जानकारी दिए।
प्रदेश सभाको स्थायी भवन र सचिवालय निर्माणाधीन अवस्थामा रहेकाले अधिवेशन वैकल्पिक व्यवस्थाअनुसार विराटनगरस्थित वीरेन्द्र सभागृहमा सञ्चालन गरिनेछ। सभागृह प्रयोगका लागि मासिक आठ लाख रुपैयाँ भाडा तिर्ने व्यवस्था गरिएको मन्त्री पराजुलीले बताए।
मन्त्रीपरिषद् बैठकले योजना, कानुन र पूर्वाधार विकाससँग सम्बन्धित विभिन्न महत्त्वपूर्ण निर्णयहरू पनि गरेको छ। कानुन, न्याय तथा प्रदेश मामिला समितिबाट परिमार्जन भई आएको “कोशी प्रदेश योजना आयोग गठन तथा सञ्चालन (गठन आदेश) २०८२” लाई स्वीकृति प्रदान गरिएको छ।
प्रदेशमा कानुनी सहायता प्रणालीलाई व्यवस्थित बनाउन “कोशी प्रदेश कानुनी सहायता विधेयक” को मस्यौदा तयार पार्न सैद्धान्तिक सहमति दिइएको छ। साथै, नेपाल र जापान सरकारको सहकार्यमा सञ्चालन भइरहेको कोशी पम्प चन्द्र नहर सिँचाइ आयोजनामा प्रयोग हुने सवारी साधनलाई कर छुट दिने प्रस्ताव पनि पारित भएको छ।
ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका लागि प्रदेश सरकारको तर्फबाट साढे १२ प्रतिशत म्याचिङ फण्ड उपलब्ध गराउने निर्णय गरिएको छ। यस कार्यक्रमअन्तर्गत संघीय सरकारले ७७ करोड रुपैयाँ पुँजीगत तथा ७० लाख रुपैयाँ चालु बजेट उपलब्ध गराएको छ।
त्यसैगरी विपन्न नागरिकको आवास अधिकार सुनिश्चित गर्न “कोशी जनता आवास” सम्बन्धी मापदण्डसहितको कार्यविधि २०८२ लाई पनि मन्त्रीपरिषद्ले स्वीकृति दिएको छ।
