सुनसरी- झापा र सुनसरीका विभिन्न स्थानबाट लागूऔषध ब्राउनसुगरसहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
झापाको बिर्तामोड नगरपालिका–२ क्षेत्रमा लागूऔषधको अवैध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा तथा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त प्रहरी टोलीले छापा मारेको थियो। सो क्रममा बाह्रदर्शी गाउँपालिका–६ स्थायी घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएका दीपक कार्कीको कोठाबाट १ ग्राम ७०० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको प्रहरीले जनाएको छ। उक्त लागूऔषधको बेचबिखनमा संलग्न मनकुमार राजवंशीलाई मे १ ह ५५६२ नम्बरको अटोसहित पक्राउ गरिएको हो।
यस्तै, सुनसरीको धरान–८ क्षेत्रबाट अस्थायी प्रहरी चौकी तीनकुनेको टोलीले इटहरी–५ की सोनिका तामाङको साथबाट ३७० मिलिग्राम ब्राउनसुगर बरामद गरेको छ। घटनासँग सम्बन्धित रहेको आरोपमा इटहरी–९ की इशा पौडेललाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ।
पक्राउ परेका सबै व्यक्तिहरूमाथि लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
