सुनसरी – मधेश प्रदेशमा हराउने (सम्पर्कविहीन) व्यक्तिहरुको संख्या पछिल्लो समय भयावह बन्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। मधेश प्रदेश प्रहरी कार्यालयले बुधबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा प्रस्तुत विवरणअनुसार पछिल्ला ६ महिनामा मात्रै २ हजार ५ सय ७२ जना व्यक्ति सम्पर्कविहीन भएका छन्।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाका अनुसार तीमध्ये पुस महिनामा मात्र १ हजार ४ सय ४८ जना हराएका थिए। हराएकामध्ये ६ महिनाको अवधिमा १ हजार ५ सय १ जना फेला परे पनि बाँकी अझै सम्पर्कविहीन अवस्थामा रहेका छन्।
यसैबीच, प्रवक्ता थापाले ‘जेनजी आन्दोलन’ का क्रममा भएका मानवीय तथा भौतिक क्षतिको विवरण पनि सार्वजनिक गरेका छन्। आन्दोलनका क्रममा मधेश प्रदेशमा ४ जनाको मृत्यु भएको थियो भने २ सय ३४ वटा सरकारी कार्यालयमा तोडफोड तथा आगजनीबाट क्षति पुगेको छ। ती कार्यालयहरुको कुल क्षति रकम ५७ करोड ३५ लाख ५२ हजार १२५ रुपैयाँ बराबर रहेको प्रहरीको अनुमान छ।
आन्दोलनका कारण प्रहरीका सवारी साधनहरु पनि क्षतिग्रस्त भएका छन्। प्रदेशभर प्रयोगमा रहेका सवारी साधनमा करिब २ करोड ६ लाख ७८ हजार ३८० रुपैयाँ बराबरको क्षति पुगेको प्रवक्ता थापाले जानकारी दिए।
जेनजी आन्दोलनकै क्रममा प्रदेशका विभिन्न कारागारबाट १ हजार ४५ जना कैदीबन्दी फरार भएको तथ्य पनि सार्वजनिक गरिएको छ। तीमध्ये हालसम्म ५ सय ७९ जनालाई पक्राउ गर्न सफल भए पनि बाँकी अझै फरार रहेका छन्। यस्तै, बाल सुधार गृहबाट फरार भएका ६८ जनामध्ये २० जनालाई नियन्त्रणमा लिइएको छ भने ४८ जना अझै खोजीको क्रममा रहेका छन्।
आगामी निर्वाचन सुरक्षाबारे जानकारी दिँदै प्रवक्ता थापाले मधेश प्रदेशका ३२ निर्वाचन क्षेत्रमा कुल २ हजार १ सय ६० वटा मतदान स्थल रहेको बताए। तीमध्ये १ सय ५९ वटा सामान्य, ७ सय ५५ वटा संवेदनशील र १ हजार २ सय ४६ वटा अतिसंवेदनशील मतदान स्थल रहेका छन्। मतदान स्थलको जोखिमस्तरका आधारमा आवश्यक सुरक्षाकर्मी परिचालन गरिने प्रहरी कार्यालयले जनाएको छ।
