विराटनगर, कार्तिक १३। देशभर खराब मौसमका कारण हवाई सेवामा अवरोध भएको छ। काठमाडौंका लागि विराटनगरबाट उडान भरेको श्री एयरलाइन्सको विमान इन–रुटमा दृश्यता कमजोर भएपछि पुनः विराटनगरमै फर्कन बाध्य भएको हो।
विराटनगर विमानस्थल प्रमुख सुभास झाले बताए अनुसार, “विराटनगरबाट काठमाडौंका लागि उडेको विमान मौसम खराबीका कारण आकाशमै समस्या आएपछि फर्काइएको हो। हाल काठमाडौंको आकाशमा दृश्यता अत्यन्त न्यून भएकाले आन्तरिक तथा अन्तर्राष्ट्रिय दुवै उडानहरू प्रभावित भएका छन्।”
उनका अनुसार विराटनगर विमानस्थलमा उडानका लागि अवस्था सामान्य भए पनि काठमाडौंमा दृश्यता घटेकाले अवतरण र उडान दुवै प्रभावित भएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न भागमा अहिले चक्रवात र वायुप्रणालीको प्रभाव देखिएको छ, जसको असर हवाई आवागमनमा व्यापक रूपमा परेको छ।
यसैबीच, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तयार अन्य विमानहरू पनि आकाशमै ‘होल्ड’ हुन बाध्य भएका छन्। विमान कम्पनीहरूले यात्रुहरूलाई मौसम सामान्य भएपछि मात्र उडान सुचारु हुने जानकारी दिएका छन्।
