सुनसरी- अमेरिकाले नाइजेरियामा सक्रिय आइएसआइएस लक्षित हवाईऽ आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाइजेरियामा आइएसआइएसले क्रिश्चियन समुदायमाथि क्रूरतापूर्वक आक्रमण गर्दै आएको आरोप लगाउँदै उक्त कारबाही गरिएको बताएका छन्।
ट्रम्पका अनुसार लामो समयदेखि निर्दोष क्रिश्चियनहरूलाई लक्षित गरी हत्या गर्दै आएका आइएसआइएस आतंककारीविरुद्ध अमेरिकी सेनाले अत्यन्तै सटीक र प्रभावकारी हवाई हमला गरेको हो। उनले अमेरिकाले कट्टरपन्थी इस्लामिक आतंकवादलाई संसारको कुनै पनि भागमा फैलिन नदिने स्पष्ट सन्देश दिएको उल्लेख गरे।
राष्ट्रपति ट्रम्पले अमेरिकी सेनाको खुलेर प्रशंसा गर्दै रक्षा मन्त्रालयलाई ‘युद्ध विभाग’ भनेर सम्बोधन गरेका छन्। उनले यस्तो स्तरको सटीक सैन्य कारबाही गर्न अमेरिकामात्र सक्षम रहेको दाबीसमेत गरे।
यसैबीच, नागरिक स्वतन्त्रता र कानूनको शासनका लागि अन्तर्राष्ट्रिय समाज ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नाइजेरियामा धार्मिक हिंसा तीव्र रूपमा बढ्दै गएको छ। प्रतिवेदनमा जनवरीदेखि अगस्ट १० सम्मको अवधिमा मात्रै ७ हजारभन्दा बढी क्रिश्चियनहरू मारिएको उल्लेख गरिएको छ। यी हत्याका लागि बोको हराम, फुलानी समूहलगायतका सशस्त्र आतङ्ककारी समूहहरू जिम्मेवार रहेको बताइएको छ।
यसअघि पनि ट्रम्पले नाइजेरियालाई कडा चेतावनी दिएका थिए। नोभेम्बर २ मा उनले यदि क्रिश्चियन समुदायमाथि भइरहेका हत्या र आक्रमणहरू रोकिएनन् भने नाइजेरियालाई प्रदान गरिँदै आएको सबै आर्थिक तथा सैन्य सहायता तत्काल निलम्बन गरिने चेतावनी दिएका थिए।
