सुनसरी- इटहरीको व्यस्त सार्वजनिक क्षेत्र मितेरी पुल लागूऔषध कारोबारको सम्भावित थलो बन्दै गएको संकेत देखिएको छ। सोही क्रममा प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई नियन्त्रणमा लिएको छ।
मंगलबार साँझ करिब ५ बजेको समयमा इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले इटहरी उपमहानगरपालिका–४ स्थित मितेरी पुल क्षेत्रमा शंकास्पद गतिविधि देखेपछि चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा सोही स्थानका करिब ३० वर्षीय टीका राईको साथबाट ४.२३ ग्राम ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ।
सार्वजनिक आवतजावत अत्यधिक हुने स्थानमै लागूऔषध बोकेर हिँड्नुले इटहरी क्षेत्रमा लागूऔषधको सञ्जाल सक्रिय रहेको आशंका थप बलियो बनाएको छ।
प्रहरीले बरामद लागूऔषधको परीक्षण तथा स्रोत पहिचानको प्रक्रिया अघि बढाएको बताउँदै लागूऔषध ओसारपसारमा संलग्न अन्य व्यक्तिको खोजीमा समेत अनुसन्धान तीव्र पारिएको जनाएको छ।
नियन्त्रणमा लिइएका राईलाई लागूऔषधसहित इलाका प्रहरी कार्यालय इटहरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
