सुनसरी- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका विषयमा गृह मन्त्रालय र निर्वाचन आयोगबीच छलफल भएको छ। बिहीबार सम्पन्न बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र तथा भयरहित वातावरणमा सम्पन्न गर्ने विषयमा केन्द्रित रहेर विचार–विमर्श गरिएको छ।
छलफलमा गृहमन्त्री ओमप्रकाश अर्याल, निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, निर्वाचन आयुक्तद्वय डा. जानकीकुमारी तुलाधर र सगुन शम्शेर जबरा सहभागी थिए। साथै गृह मन्त्रालयका सचिव राजकुमार श्रेष्ठ र निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतलगायत अधिकारीहरूको उपस्थिति रहेको थियो।
बैठकमा निर्वाचन व्यवस्थापन, सुरक्षा व्यवस्था, प्रशासनिक समन्वय तथा निर्वाचन प्रक्रियामा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्ने उपायबारे छलफल भएको जनाइएको छ। दुवै निकायले आगामी निर्वाचनलाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार सम्पन्न गर्न आपसी सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
