सुनसरी- कोशी प्रदेशको राजधानी विराटनगरमा सिटी सफारी र चालकको वैधता यकिन गर्न सुरु गरिएको ‘सुरक्षित चालक अभियान’ ले यातायात व्यवस्था कार्यालय विराटनगरमा अस्वाभाविक चाप बढाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले सिटी सफारीका कागजात, सवारीको अवस्था तथा चालकसँग वैध चालक अनुमतिपत्र भए–नभएको विषयमा कडाइ गरेपछि चालक अनुमतिपत्र लिन आउनेको संख्या ह्वात्तै बढेको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सन्तोष न्यौपानेका अनुसार अभियान सुरु भएपछि सिटी सफारी चालकहरू कानुनी प्रक्रियामा आउन थालेका छन् । यसअघि अनुमतिपत्रबिनै सिटी चलाउने, दुर्घटना हुँदा चालक फरार हुने र आपराधिक गतिविधिमा समेत सिटी प्रयोग हुने घटना बढ्दै गएपछि अभियान थालिएको उनले बताए ।
यातायात व्यवस्था कार्यालय विराटनगरका प्रमुख गोपाल दाहालका अनुसार सोमबार मात्रै ४३६ जनाले चालक अनुमतिपत्रका लागि ट्रायल परीक्षा दिएका छन् । कोशी प्रदेश सरकारले सिटी सफारी चालकका लागि लिखित परीक्षा अनिवार्य नहुने ऐन तथा नियमावली जारी गरेपछि ट्रायल मात्रै दिएर लाइसेन्स लिन पाउने व्यवस्था गरिएको छ । लिखित परीक्षा अनिवार्य हुँदा महिनामा ४०–५० जनामात्र आवेदन दिने गरेकोमा हाल संख्या उल्लेख्य रूपमा बढेको दाहालको भनाइ छ ।
विराटनगर महानगरपालिका क्षेत्रमा दैनिक करिब १२ हजार सिटी सफारी सञ्चालनमा रहेको तथ्यांक छ । तर महानगरको अभिलेखअनुसार तीमध्ये करिब ३ हजार २०० चालकसँग मात्रै वैध चालक अनुमतिपत्र रहेको देखिन्छ । यसअघि सिटी सफारी स्थानीय तह मातहत दर्ता तथा नवीकरण हुँदै आएका थिए ।
यद्यपि, अभियानसँगै केही चालकले ट्रायल प्रक्रियामा अनियमितताको आशंका व्यक्त गरेका छन् । आफ्नै सिटी सफारी हुँदाहुँदै ट्रायलका लागि भाडाको सिटी प्रयोग गर्न दबाब आउने र त्यसका लागि ३०० रुपैयाँ तिर्नुपर्ने गुनासो उनीहरूको छ । सुरक्षित चालक अभियान प्रभावकारी बन्न यसका सबै प्रक्रिया पारदर्शी र निष्पक्ष हुनुपर्ने आवश्यकता देखिएको छ ।
