काठमाडौं — राष्ट्रिय सभाको १९औँ अधिवेशन आजबाट सुरु हुँदैछ। जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेको नयाँ बानेश्वरस्थित संसद् भवनमै आइतबार अधिवेशन सञ्चालन हुन लागेको हो।
आज बिहान ११ बजे बस्ने पहिलो बैठकका लागि आवश्यक तयारी पूरा भइसकेको छ। सभाध्यक्ष नारायणप्रसाद दाहालले अधिवेशनअघि नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेर कार्यसूची तय गरिसकेका छन्।
पहिलो बैठकमा सभाध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र वाचन गर्नेछन्। साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव प्रस्तुत गरिनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को पुस २८ गतेको सिफारिसमा आज माघ ४ गते बिहान ११ बजेका लागि अधिवेशन आह्वान गरेका हुन्। यसअघि राष्ट्रिय सभाको १८औँ अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो।
