सुनसरी- धनकुटाको भेडेटारमा एम्बुलेन्सको आडमा लागूऔषध ओसारपसार गरिएको खुलासा भएको छ। साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित सडक किनारबाट प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो।
आइतबार राति इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा रहेको ना ४ च ६४७४ नम्बरको एम्बुलेन्स रोकी जाँच गर्ने क्रममा एम्बुलेन्सभित्र लुकाइराखिएको ४५९ किलो ९६५ ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ। उक्त गाँजा प्लास्टिकका पोकामा प्याक गरेर राखिएको अवस्थामा भेटिएको थियो।
एम्बुलेन्स जस्तो संवेदनशील सवारी साधन प्रयोग गरी गाँजा तस्करी गरिएको घटनाले सुरक्षालाई समेत चुनौती दिएको प्रहरीको भनाइ छ। हाल लागूऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ।
