सुनसरी- कुनै समय थारु समुदायको पहिचान भन्नासाथ आँखाअगाडि मौलिक पोसाक झल्किन्थ्यो। पुरुषले कछौटी, टेनिहा झुल्वा र पग्या लगाउँथे भने विवाहित महिलाको पहिरन डइनाहा र झूल्वा हुन्थ्यो। अविवाहित युवतीले चोल्या र गोन्या लगाएर आफ्नो सामाजिक अवस्था र पहिचान प्रष्ट्याउँथे। ती पोसाक केवल लुगा मात्र नभएर कला, संस्कृति र पुस्तौँदेखिको जीवनशैलीको प्रतीक थिए।
तर समयसँगै त्यो पहिचान धमिलो बन्दै गएको छ। आज थारु समुदायका ती मौलिक पोसाक दैनिक जीवनमा देख्न मुस्किल छ। कुनै सांस्कृतिक कार्यक्रम, झाँकी वा ‘पोसाक दिवस’ जस्ता औपचारिक अवसरबाहेक ती पोसाक प्रयोगमा आउँदैनन्।
तुलसीपुरस्थित नमूना भुह्यारथान दाङका अध्यक्ष रामशरण चौधरीका अनुसार पहिरनकै आधारमा समुदाय छुट्याउन सकिने अवस्था अब रहेन। “हाम्रा पूर्खाले लगाएका पहिरन हाम्रो पहिचान थिए,” उनी भन्छन्, “तर अहिले ती हराउने अवस्थामा पुगेका छन्।”
उनका अनुसार बुढापाकाले अझै पनि कहिलेकाहीँ ती पोसाक लगाउने गरे पनि नयाँ पुस्तामा चासो देखिँदैन। संरक्षणका नाममा विभिन्न कार्यक्रम आयोजना भए पनि ती औपचारिकतामै सीमित हुने गरेका छन्। व्यवहारिक जीवनमा पोसाकको प्रयोग नहुँदा यसको निरन्तरता टुट्दै गएको उनको भनाइ छ।
आधुनिक समाजसँग घुलमिल हुने क्रममा थारु समुदायले आफ्नै मौलिक पहिचानलाई प्राथमिकतामा राख्न नसकेको चौधरी बताउँछन्। “थारु समुदायको कार्यक्रममा मात्रै केहीले मौलिक पोसाक लगाएको देखिन्छ,” उनी भन्छन्, “अन्य समयमा त लगाएको देखिँदैन।” अहिले त थारु पोसाक लगाउँदा आफ्नै समुदायका मानिसले समेत अनौठो नजरले हेर्ने अवस्था आएको उनी स्वीकार गर्छन्।
चौधरीले थारु समुदाय मात्र होइन, देशका सबै जातजातिका मौलिक कला, संस्कृति, पोसाक र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा स्थानीय सरकार र सरोकारवाला निकायले गम्भीर ध्यान दिनुपर्नेमा जोड दिए। ती पहिचानलाई पुस्तान्तरण गर्न नसके सांस्कृतिक विविधता कागज र कार्यक्रममै सीमित हुने खतरा बढ्दै गएको उनको निष्कर्ष छ।
