सुनसरी — सामान्य रुघाखोकी, ज्वरो वा फ्लु हुँदा डाक्टरसँग परामर्श नगरी मेडिकल स्टोरबाट एन्टिबायोटिक किनेर खाने बानी स्वास्थ्यका लागि गम्भीर जोखिम बन्न सक्ने मिर्गौला रोग विशेषज्ञहरूले चेतावनी दिएका छन्। अनावश्यक र जथाभाबी औषधि सेवनले मिर्गौलामा स्थायी क्षति पुर्याउन सक्ने उनीहरूको भनाइ छ।
विशेषज्ञका अनुसार एन्टिबायोटिक ब्याक्टेरिया सङ्क्रमणको उपचारका लागि मात्र प्रयोग गरिनुपर्छ। तर व्यवहारमा धेरैजसो मानिसले भाइरल ज्वरो, रुघाखोकी वा खोकी जस्ता समस्यामा पनि यी औषधि सेवन गर्ने गरेका छन्। यसले मिर्गौलामा प्रत्यक्ष दबाब पर्नुका साथै यसको कार्यक्षमता कमजोर बनाउने जोखिम बढाउँछ।
बारम्बार अनावश्यक रूपमा एन्टिबायोटिक सेवन गर्दा औषधिले काम नगर्ने अवस्था पनि आउन सक्छ। शरीरमा रहेका ब्याक्टेरियाले औषधिप्रति प्रतिरोध विकास गर्ने यो अवस्थालाई ‘एन्टिबायोटिक प्रतिरोध’ भनिन्छ, जसले भविष्यमा गम्भीर सङ्क्रमणको उपचारसमेत जटिल बनाउँछ।
त्यस्तै, यी औषधिले शरीरका उपयोगी ब्याक्टेरियालाई पनि नष्ट गर्ने भएकाले रोग प्रतिरोधात्मक क्षमता घट्ने, पेटसम्बन्धी समस्या र एलर्जी देखिने सम्भावना रहन्छ। विशेषज्ञहरूका अनुसार सामान्य भाइरल रुघाखोकीजस्ता सङ्क्रमणहरू शरीरले ३ देखि ५ दिनभित्र आफैँ जित्ने भएकाले एन्टिबायोटिक आवश्यक पर्दैन।
डाक्टरको सल्लाहबिना औषधि सेवन गर्दा गम्भीर अवस्थामा मिर्गौला फेलसमेत हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरिएको छ।
हल्का रुघाखोकी वा खोकीको अवस्थामा औषधिको सट्टा सुरक्षित घरेलु उपाय अपनाउन सकिने विज्ञहरूको सुझाव छ। बन्द नाक र घाँटीको समस्यामा बाफ लिने, नुनपानीले कुल्ला गर्ने, प्रशस्त पानी पिउने र पर्याप्त आराम गर्ने उपाय प्रभावकारी मानिन्छन्।
स्वास्थ्यकर्मीहरूले औषधि भने डाक्टरले सिफारिस गरेमा मात्र सेवन गर्न र आफ्नै निर्णयमा औषधि प्रयोग नगर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार जथाभाबी औषधि सेवन मिर्गौलाका लागि “मन्द विष” सावित हुन सक्छ।
