सुनसरी- नेपालका अधिकांश घरमा बिहानको सुरुवात चिया वा कफीबाट हुने गर्छ। अभिभावकका लागि यो दैनिकी सामान्य जस्तै भए पनि यही बानीले बालबालिकाको स्वास्थ्यमा गहिरो असर पारिरहेको विज्ञहरू बताउँछन्। धेरैजसो अभिभावकले माया देखाउने नाममा साना छोराछोरीलाई एक–दुई घुट्की चिया वा कफी चखाउने गरेका छन्, तर यसले उनीहरूको शारीरिक र मानसिक विकासमा नकारात्मक प्रभाव पार्ने खतरा बढाउँछ।
चिया र कफीमा पाइने क्याफिनले बालबालिकाको विकासशील मस्तिष्क र स्नायु प्रणालीमा तीव्र असर गर्छ। चिकित्सकका अनुसार क्याफिनले निद्रा ल्याउने ‘एडेनोसिन’ नामक रसायनलाई अवरुद्ध गर्छ, जसका कारण बालबालिकामा निद्राको समस्या, चिडचिडापन र एकाग्रता कमी देखिन सक्छ। बाहिरबाट फुर्तिलो देखिए पनि शरीरभित्र थकान जम्मा हुँदै जानु अर्को समस्या हो।
त्यसैगरी, चियामा रहेको ट्यानिन र क्याफिनले क्याल्सियम सोस्ने प्रक्रियामा बाधा पुर्याएर हड्डी कमजोर बनाउने जोखिम हुन्छ। चिनी मिसिएको चिया–कफीले मोटोपन र खानपानको असन्तुलनसमेत बढाउन सक्छ।
अमेरिकी एकेडेमी अफ पेडियाट्रिक्सले १२ वर्षमुनिका बालबालिकालाई क्याफिनयुक्त पदार्थ नदिन सिफारिस गरेको छ। विशेषज्ञहरू बालबालिकाका लागि दुध, मोही, नरिवलको पानी वा ताजा फलफूलको जुस जस्ता विकल्प रोज्न सुझाव दिन्छन्। बालबालिकाको दीर्घकालीन स्वास्थ्यका लागि चिया–कफीबाट टाढा राख्नु नै सुरक्षित उपाय मानिन्छ।
