सुनसरी- सुनसरी जिल्लामा चिसो बढ्दै गएपछि शीतलहरको प्रभावले विद्यालय पठनपाठन प्रभावित बनेको छ। चिसोका कारण बालबालिकाको स्वास्थ्यमा जोखिम देखिएपछि जिल्लाभरिका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएका छन्।
स्थानीय तहहरूको निर्णयअनुसार पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालय सञ्चालन नहुने जनाइएको छ। इटहरी उपमहानगरपालिकाले विद्यालय बन्द भए पनि उक्त बिदा वार्षिक बिदाबाट कट्टा गरिने स्पष्ट पारेको छ।
उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख रमेशकुमार शाहका अनुसार अत्यधिक चिसोले बालबालिकामा स्वास्थ्य समस्या देखिन सक्ने भएकाले एहतियाती कदमस्वरूप विद्यालय बन्द गर्ने निर्णय लिइएको हो।
इटहरीसँगै इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगर–रामधुनीलगायत अन्य स्थानीय तहका विद्यालयहरू पनि वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द रहनेछन्।
यसैबीच स्थानीय प्रशासनले अभिभावकहरूलाई बालबालिकालाई घरमै न्यानो वातावरणमा राख्न र आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
