सुनसरी- रामधुनी नगरपालिका–९ का वडाध्यक्ष घनश्याम चौधरी नेपाली कम्युनिष्ट पार्टी (नेकपा) मा खुलेसँगै स्थानीय राजनीतिक वृत्तमा नयाँ बहस सुरु भएको छ। पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपामा उनको प्रवेशलाई आगामी निर्वाचनको सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ।
स्थानीय तहमा बलियो जनाधार र व्यक्तिगत लोकप्रियता बनाएका चौधरी यसअघि एमाले, त्यसपछि नेकपा एकीकृत समाजवादी हुँदै आएका नेता हुन्। २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेबाट वडाध्यक्ष निर्वाचित भएका उनी, एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीबाट २०७९ मा पुनः चुनाव जित्न सफल भएका थिए। पार्टी फुटका बाबजुद मतदातामाझ आफ्नो पकड कायम राख्नु चौधरीको राजनीतिक क्षमताको उदाहरण मानिन्छ।
१६ कम्युनिष्ट घटक मिलेर नेकपा गठन भएपछि चौधरी केही समय सार्वजनिक रूपमा मौन देखिएका थिए। घनश्याम भुसाल समूहसँग निकट मानिने उनी, धर्मराज निरौला लगायतका नेतासँगको सम्बन्धका कारण राजनीतिक अवस्थाको सूक्ष्म मूल्यांकनमा रहेको बुझिएको थियो।
बिहिबार रामधुनीमा आयोजित नेकपाको एकता सन्देश सभामा सहभागी हुँदै चौधरीले कम्युनिष्ट शक्तिहरूबीचको एकतालाई समयको आवश्यकता बताए। उनले एमाले–माओवादी केन्द्र एकताबाट बनेको तत्कालीन नेकपा दीर्घकालीन रूपमा टिक्न नसक्नु दुःखद भएको उल्लेख गर्दै त्यसको जिम्मेवारी नेतृत्व तहले लिनुपर्ने धारणा व्यक्त गरे।
२०७९ को स्थानीय तह निर्वाचन परिणामले चौधरीको लोकप्रियता प्रस्ट देखाउँछ। उनले १ हजार ६७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका राजेश चौधरी ५८९ मतमा सीमित भए। एमालेका उम्मेदवार योगेन्द्र खड्काले ५५० मत मात्रै ल्याएका थिए। कांग्रेस र एमाले दुवैलाई फराकिलो मतान्तरले पछि पार्नु चौधरीको स्थानीय प्रभावको प्रमाण मानिन्छ।
वडाध्यक्षसँगै वडा सदस्यतर्फ पनि उनको प्रभाव देखिएको थियो। वडा नं. ९ का चारै जना सदस्य नेकपा एकीकृत समाजवादीबाट निर्वाचित हुनु चौधरीको संगठित नेतृत्व क्षमताको संकेत हो।
विगतमा रामधुनीमा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने गरेको थियो। तर बदलिँदो राष्ट्रिय राजनीति, राष्ट्रिय स्वतन्त्र पार्टीसहित नयाँ दलहरूको उदय, जेन–जी आन्दोलन र हालै गठन भएको नेपाली कम्युनिष्ट पार्टीले परम्परागत शक्ति सन्तुलन हल्लिने संकेत देखिएको छ। यस्तो परिवेशमा घनश्याम चौधरीको नेकपा प्रवेशले रामधुनी नगरपालिकामा कांग्रेस र एमालेका लागि चुनौती थपिने आँकलन गरिएको छ।
