सुनसरी- इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले आवश्यक कागजातबिना सञ्चालनमा रहेका पाँच वटा बोलेरो जीप नियन्त्रणमा लिएको छ। ती सवारी साधनलाई कानुनी प्रक्रिया अघि बढाउन राजस्व अनुसन्धान कार्यालय इटहरीमा बुझाइएको प्रहरीले जनाएको छ।
नियमित ट्राफिक चेकजाँचका क्रममा ताप्लेजुङका भित्री सडक खण्डमा सञ्चालन भइरहेका महेन्द्रा कम्पनीका बोलेरो जीपहरू शंकास्पद देखिएपछि प्रहरीले अनुसन्धान गरेको थियो। जाँचका क्रममा ती जीपमा प्रयोग गरिएका सवारी नम्बर, चेसिस नम्बर तथा इन्जिन नम्बर परिवर्तन गरिएको पाइएको हो।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका सवारी साधनका विवरण यातायात व्यवस्था कार्यालयको आधिकारिक अभिलेखमा नदेखिएपछि ती अवैध रूपमा सञ्चालन भइरहेको पुष्टि भएको हो। सोही आधारमा थप अनुसन्धान र कानुनी कारबाहीका लागि सबै सवारी साधन राजस्व अनुसन्धान कार्यालय इटहरीमा हस्तान्तरण गरिएको छ।
नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी चोरी नियन्त्रण, अवैध कारोबार न्यूनीकरण र सुरक्षित सडक निर्माणका लागि नियमित रूपमा सवारी साधनका कागजात, नम्बर प्लेट, चेसिस नम्बर तथा इन्जिन नम्बरको कडाइका साथ अनुगमन गर्दै आएको जनाएको छ।
प्रहरीले सवारी धनी तथा चालकहरूलाई सवारी साधनका सबै कागजात सुरक्षित राख्न, अनधिकृत रूपमा नम्बर वा संरचना परिवर्तन नगर्न तथा पार्किङ गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।
