मोरङ — मोरङको लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया अंशु गौतमको हत्या प्रकरणमा प्रहरी धेरै दिनको अनुसन्धानपछि उनका छिमेकी पदम अधिकारीलाई मुख्य संलग्नता रहेको ठानी नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइरहेको छ।
गत असोज २१ गते घरबाट निस्किएपछि बेपत्ता भएकी अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनभित्र क्षतविक्षत अवस्थामा फेला परेको थियो। टाउको र शरीर छुट्टिएको, कुहिएको तथा दुर्गन्धित अवस्थामा शव भेटिएपछि घटनालाई अत्यन्त संवेदनशील मानेर प्रहरीले अनुसन्धान थालेको थियो।
प्रहरी स्रोतका अनुसार अन्दाजी ५० वर्षीय अधिकारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको छ। प्रारम्भिक बयानमा उनले अंशुको हत्या गरेको स्वीकार गरेको दाबी प्रहरी स्रोतले गरेको छ। तर औपचारिक रूपमा यसबारे सार्वजनिक पुष्टि भने भइसकेको छैन।
शव अत्यधिक कुहिएको अवस्थाबाट फेला परेकाले विज्ञ परीक्षणहरूबाट प्रमाण संकलन गर्न गाह्रो भएको, तर प्रक्रिया अघि बढिरहेको प्रहरीले जनाएको छ। पोष्टमार्टम, डीएनए परीक्षण तथा अन्य फरेन्सिक प्रतिवेदनको प्रतिक्षामा रहेकाले घटनाको स्वरूपबारे अन्तिम निष्कर्ष नआएको पनि प्रहरीको भनाइ छ।
घटनास्थल नजिकै पीडितले लगाइरहेका कपडाहरू फुकालिएको अवस्थामा भेटिएकोले यौन दुरुपयोगपछि हत्या गरिएको हुन सक्ने आशंकालाई प्रहरीले खारेज गरेको छैन। बलात्कारसम्बन्धी पुष्टि भने फरेन्सिक प्रतिवेदन आएपछि मात्र हुने बताइएको छ।
मोरङ जिल्ला प्रहरी कार्यालय, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) सम्मिलित संयुक्त टोलीले स्थानीय बासिन्दासँग सोधपुछ, शंकास्पद गतिविधि भएको भनिएका व्यक्तिहरूको पृष्ठभूमि अध्ययन र घटनास्थलबाट संकलित प्रमाणका आधारमा अनुसन्धान अगाडि बढाइरहेको छ।
मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले घटना अत्यन्त संवेदनशील भएकाले प्रत्येक कदम सावधानीपूर्वक चालिएको बताए।
“अहिलेसम्मका प्रारम्भिक तथ्यहरूले केही संकेत गरेका छन्, तर अन्तिम निष्कर्षमा पुग्न अझै बाँकी छ,” एसपी कटवालले भने, “फरेन्सिक प्रतिवेदन, बयान र भौतिक प्रमाणको समग्र विश्लेषणपछि मात्रै सम्पूर्ण तस्वीर स्पष्ट हुनेछ।”
