सुनसरी । पूर्वी तराईको जैविक धरोहर मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा नेपाली सेनाले पाँच दशकदेखि बहुआयामिक भूमिकासहित संरक्षण कार्यलाई मजबुत बनाउँदै आएको छ। वन्यजन्तुको सुरक्षा, अवैध गतिविधि नियन्त्रण, समुदाय सहकार्य र विपद् व्यवस्थापनजस्ता विविध क्षेत्रमा सेनाको सक्रिय पहरा कायम रहँदा आरक्ष देशमै संरक्षणको उत्कृष्ट उदाहरण बन्न सफल भएको छ।
सैनिक प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार कोशीटप्पुमा सेनाको प्राथमिक जिम्मेवारी वन्यजन्तु र जैविक विविधताको सुरक्षा हो। चोरी–शिकारी नियन्त्रण, आरक्षभित्रको गस्ती, निगरानी र संरक्षण कार्यक्रममा स्थानीयको सहभागिता महत्वपूर्ण रहेको उनले बताए। उनका अनुसार अवैध घुसपैठ, वन्यजन्तु आक्रमण र चोरी–निकासी रोक्न सेना ‘पहिलो र अन्तिम भरोसा’का रूपमा खटिएको छ।
आरक्ष प्रमुख भूपेन्द्रप्रसाद यादवका अनुसार सेनाको निरन्तर सहकार्य र वैज्ञानिक मोनिटरिङका कारण दुर्लभ अर्नाको संख्या उल्लेखनीय रूपमा बढेको छ। १९७६ मा ६३ रहेको अर्ना २०२१ को गणनामा ४९८ पुगेको छ। आरक्षमा स्तनधारी ४२, पक्षी ५३५, माछा १४१, पुतली ७७ प्रजाति तथा घडीयाल, दलदल डल्फिन, अजिङ्गर, निलगाईलगायत दुर्लभ प्रजाति पाइने उनले बताए।
सप्तकोशी नदीका टापु, सिसौ–खयरका प्राकृतिक वन, जलचर, बसाइँसराइ चराहरू र अतिदुर्लभ खरमयुरका वासस्थान रहेको कोशीटप्पु १९८७ देखि रामसार सूचीमा सूचीकृत छ। बलियो जैविक प्रणालीका कारण यसलाई ‘चराहरूको राजधानी’ समेत मानिन्छ।
आरक्ष क्षेत्रमा चोरी–तस्करी नियन्त्रणका लागि नेपाली सेनाले स्मार्ट पट्रोल, ड्रोन, सिसिटिभी, ट्र्याकिङ डिभाइस तथा डिजिटल डेटा व्यवस्थापन प्रणालीमार्फत आधुनिक मोडेल अपनाएको छ। दैनिक गस्ती, चेकपोइन्ट, स्वीप अपरेसन, आकस्मिक तैनाथी र जोखिम नक्साङ्कनले सुरक्षा प्रणाली थप प्रभावकारी बनेको आरक्ष कार्यालयको भनाइ छ।
मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणमा सेना, समुदाय र मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिको भूमिका महत्त्वपूर्ण रहेको समितिका अध्यक्ष जङ्गबहादुर खड्काले बताए। बाली नोक्सानी, घरभत्किने, जनधनको क्षतिको घटनामा राहत उपलब्ध गराउन चुनौती रहेपनि सहयोग प्रणालीलाई सहज बनाउने आवश्यकता रहेको उनले उल्लेख गरे।
बाढी, डुबान, पहिरो जस्ता विपद्का बेला उद्धार–राहत र पुनःस्थापनामा सेनाको योगदान स्थानीयले उच्च सम्मानका साथ सम्झने गरेका छन्। सेनाको उपस्थिति, नियमित समन्वय र संरक्षणप्रति प्रतिबद्धताले कोशीटप्पु क्षेत्र सुरक्षित, व्यवस्थित र पर्यटकमैत्री बनेको आरक्ष प्रमुख यादवको भनाइ छ।
संरक्षण, समुदाय र सुरक्षाको समन्वयले कोशीटप्पु आज नेपालकै सफल संरक्षण मोडेलको रूपमा स्थापित भएको छ।
