इटहरी । जेन–जी पुस्ताको आन्दोलनपछि पूर्वमा सबैभन्दा धेरै भौतिक तथा संरचनागत क्षति व्यहोरेको इटहरीमा प्रहरी अब ‘डिजिटल मोडेल’ मार्फत अपराधी पहिचानमा केन्द्रित भएको छ। आन्दोलनको भीडमा अवसरवादी समूह प्रवेश गरेर सरकारी तथा निजी संरचनामा गरेको तोडफोड र आगजनीपछि इलाका प्रहरी कार्यालय इटहरीले परम्परागत अनुसन्धानभन्दा प्रविधिमैत्री पद्धतिलाई प्राथमिकता दिएको हो।
प्रहरीका अनुसार अपराधमा संलग्न व्यक्तिहरू पत्ता लगाउन सीसीटीभी फुटेज विश्लेषण, मोबाइल लोकेशन ट्रेसिङ, ‘सोसल–मिडिया एक्टिभिटी म्यापिङ’ तथा फोटो–फेस रिकग्निसन जस्ता आधुनिक विधिहरू प्रयोग भइरहेको छ। बुधबार मात्रै पाँच जनालाई पक्राउ गरी अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा इटहरी–३ का ३२ वर्षे विजय लिम्बू, वडा–६ का ४५ वर्षे मदन खत्री, वडा–५ का ४५ वर्षे दिपेन्द्र कार्की, वडा–९ का ३० वर्षे आबस कार्की र वडा–४ का ३२ वर्षे सनम कार्की रहेका छन्। उनीहरूलाई आपराधिक उपद्रो मुद्दामा थुनामा राखिएको छ।
आन्दोलनपछि प्रहरीले कम्तीमा २० जनाको नाम शंकासूचीमा राखेर अनुसन्धान थालिएको छ। उनीहरूको संलग्नता सीसीटीभी फुटेज, मोबाइल टावर लोकेशन, घटनास्थल नजिकको डिजिटल गतिविधि तथा सोसल–मिडिया ट्र्याकिङमार्फत जाँच भइरहेको छ।
सबैभन्दा बढी क्षति इटहरी इलाका प्रहरी कार्यालय, राजमार्ग सुरक्षा कार्यालय, पकली र खनारका प्रहरी चौकी, हलगडास्थित अस्थायी चौकी तथा अन्य सरकारी संरचनामा पुगेको छ। प्रहरीको प्रारम्भिक मूल्याङ्कनअनुसार आक्रमणको ढाँचा ‘सङ्गठित’ र एउटै नेटवर्कबाट निर्देशित देखिएको छ।
त्यसक्रममा विभिन्न राजनीतिक दलका कार्यालय, राजस्व अनुसन्धान कार्यालय, आन्तरिक राजस्व कार्यालय, यातायात सेवा कार्यालयदेखि मन्त्री तथा मेयरको घरसम्म आक्रमण भएकाले पनि आक्रमणकारी समूह बाहिरबाट घुसपैठ गरेर अवसरवादी रूपमा सक्रिय भएको हुनसक्ने संकेत देखिएको प्रहरीले जनाएको छ।
भदौ २३ मा इटहरी–१४ का ४० वर्षीय मोहन सरदार र १६ वर्षीय अभिषेक श्रेष्ठको मृत्यु भएपछि आन्दोलनले उग्र रूप लिएको थियो। प्रहरी स्रोतका अनुसार डिजिटल प्रमाणको क्रस–म्याचिङ अन्तिम चरणमा पुगेको छ र यसपछि थप ठूलो संख्यामा गिरफ्तारी हुनसक्छ।
