ईनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–६ मा प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित गाँजा बरामद गरेको छ।
कोशी प्रदेश प्रहरी कार्यालयअन्तर्गतको प्रादेशिक अनुसन्धान समूह तथा प्रहरी चौकी घुस्कीबाट खटिएको संयुक्त टोलीले सडक किनारमा छोडिएको अवस्थामा भारतीय नम्बर प्लेट डब्लु बी २ ए.एल. ०१७५ रहेको कार फेला पारेपछि विस्तृत जाँच गरेको थियो।
जाँचका क्रममा कारको डिकीभित्र कालो प्लास्टिकका पोका बनाई २० किलोग्राम गाँजा लुकाइ–छिपाइ राखिएको अवस्थामा बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीका अनुसार गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरू घटनास्थलमै फरार भइसकेका छन्। उनीहरूको पहिचान तथा समात्न खोजी–अनुसन्धानलाई तीव्र बनाइएको कोशी प्रदेश प्रहरीले जनाएको छ।
घटनाबारे आवश्यक थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
