काठमाडौं — बारा र पर्सा जिल्लामा सञ्चालन गरिएको हैजा प्रतिरोधात्मक खोप अभियान इतिहासकै उच्च कभरेजसहित सम्पन्न भएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख डा. अभियान गौतमका अनुसार दुवै जिल्लामा गरी करिब ९० प्रतिशत जनताले खोप प्राप्त गरेका छन्।
दुई चरणमा चलेको अभियानअन्तर्गत बारामा ८८.२५ प्रतिशत र पर्सामा ९० प्रतिशत लक्षित जनसंख्याले खोप लगाएको विभागले जनाएको छ। बारामा ३ लाख २२ हजार ९२६ जना र पर्सामा ५ लाख ८९ हजार ३५४ जनाले खोप प्राप्त गरेका हुन्।
गत असोज २६देखि कात्तिक २ र कात्तिक १३देखि कात्तिक २७ गतेसम्म एक वर्षमाथिका सबैलाई लक्ष्य गरेर अभियान सञ्चालन गरिएको थियो। घर–घर अभियान, मोबाइल टोली र समुदायस्तरीय सक्रियताका कारण यसपटकको कभरेज अहिलेसम्मकै उच्च रहेको गौतमले बताए।
“सामान्यतया हैजाविरुद्धको खोप अभियानमा ७० देखि ८० प्रतिशत कभरेज हुने गरेकोमा यसपटक दुवै जिल्लामा यो दर ९० प्रतिशतजति पुग्यो,” उनले भने। “खोप छुटेकालाई नियमित खोप कार्यक्रममार्फत समेटिएको छ।”
गत भदौमा बारा र पर्साका विभिन्न स्थानीय तहमा फैलिएको हैजाको जोखिम न्युनिकरण गर्न विभागले बाराका ६ र पर्साका १४ स्थानीय तहमा खोप अभियान सञ्चालन गरेको थियो। स्वास्थ्य अधिकारीका अनुसार उच्च कभरेजका कारण दुवै जिल्लामा हैजाको पुनःप्रकोपको सम्भावना न्यून भएको छ।
