सुनसरी- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा नेकपा (एमाले) कोशी प्रदेश कमिटी सदस्य द्वारिकलाल चौधरीले आफूलाई लक्षित गर्दै गरिएको हालको कारबाही ‘नियोजित र पूर्वाग्रहपूर्ण’ भएको दाबी गरेका छन्। अनुशासन उल्लंघन गरेको आरोपमा पार्टीले ६ महिनाका लागि सदस्यता निलम्बन गरेपछि उनले कठोर टिप्पणी गर्दै नेतृत्वमाथि प्रश्न उठाएका हुन्।
चौधरीका अनुसार पार्टीभित्र गुटबन्दी, दुराग्रह र आगामी महाधिवेशनलाई ध्यानमा राखेर आफूलाई ‘प्रतिनिधि छनोट प्रक्रियाबाट टाढा राख्न’ कारबाही गरिएको हो। “मैले केपी ओलीको कार्यशैलीबारे आलोचनात्मक टिप्पणी गरेको हुँ, तर आलोचना स्वीकार्ने संस्कार पार्टीभित्र देखिँदैन,” उनले भने।
उनले कारबाहीको समय र प्रक्रियामै शंका व्यक्त गरे। “यत्रो समय कारबाही नगर्ने, तर महाधिवेशनको पूर्वसन्ध्यामै निलम्बन गर्नु– यसले मलाई महाधिवेशनबाट वञ्चित गराउने राजनीतिक खेल स्पष्ट देखिन्छ,” चौधरीको प्रतिक्रिया छ।
सामाजिक सञ्जाल तथा मिडियामा व्यक्त विचारकै कारण आफू निशानामा परेको जिकिर गर्दै उनले ‘सत्य कुरा तीतो लाग्ने’ भएकै कारण नेतृत्व निस्पृह हुन नसकेको आरोप लगाए।
चौधरीलाई प्रदेश कमिटीले निलम्बन गरे पनि केन्द्रीय अनुशासन समितिले अनुमोदन नगरेसम्म कारबाही लागू नहुने भन्दै उनले अन्ततः कारबाही फिर्ता हुने विश्वास व्यक्त गरे।
यसैबीच, इटहरीका प्रा.डा. बद्रीविशाल पोखरेल र काशीनाथ दंगाललाई पनि ‘पार्टी हितविपरीत’ गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएको छ।
उता, झापाका मनोरथ तिवारीलाई पार्टीविरोधी गतिविधि तथा ध्रुव शिवाकोटीलाई अदालतले फौजदारी कसुरमा सजाय सुनाएको भन्दै पदमुक्त गरिएको एमालेले जनाएको छ। शिवाकोटीमाथि धर्मछोरी बलात्कारको गम्भीर आरोप लागेपनि पार्टीभित्र लामो समयसम्म संरक्षण पाएको विषय चर्चामा रहेको छ।
यो प्रकरणसँगै एमालेभित्रको आन्तरिक राजनीति, गुट–उग्रता र महाधिवेशनलाई केन्द्रमा राखेर चलिरहेको शक्ति–प्रयोग पुनः सतहमा आएको विश्लेषकहरूको भनाइ छ।
