सुनसरी- बाराको सिमरा विमानस्थल क्षेत्र बुधबार दिउँसो एकाएक तनावग्रस्त भएपछि स्थानीय प्रशासनले साढे १२ बजेदेखि राति ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको छ।
एमाले नेता महेश बस्नेत सिमरा हुँदै परवानीपुरमा हुने प्रदेशस्तरीय युवा भेलामा सहभागी हुने सूचना बाहिरिएलगत्तै जेन–जी युवाहरू विमानस्थल क्षेत्रमा भेला भई विरोधमा उत्रिएका थिए। विरोध चर्किँदै जाँदा प्रदर्शनकारी र एमाले कार्यकर्ता बीच झडप समेत भएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजय पण्डितले जानकारी दिए।
उग्र बनेको स्थितिमा जेन–जी समूहले विमानस्थलको मुख्य गेटसमेत भत्काएको प्रहरीले जनाएको छ। अवस्था नियन्त्रणभन्दा बाहिर जाने संकेत देखिएपछि अतिरिक्त सुरक्षाकर्मी ठूलो संख्यामा परिचालन गरिएको हो।
एमाले महासचिव शंकर पोखरेल र युवा इञ्चार्ज बस्नेत कार्यक्रमका प्रमुख अतिथि रहेका कारण उनीहरू सिमरा हुँदै परवानीपुर जान तयारीमा थिए। तर बढ्दो तनावका कारण सुरक्षा संवेदनशीलता चर्किंदै गएको प्रशासनले जनाएको छ।
