इटहरी । सडक दुर्घटना न्यूनीकरण र सुरक्षित यातायात प्रवर्धनको उद्देश्यसहित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले सवारी चालकहरूको स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन गरेको छ।
कार्यालय प्रमुख प्रहरी उपरीक्षक (एसपी) दीपक गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रम इटहरी उपमहानगरपालिका, इलाका प्रहरी कार्यालय इटहरी तथा कोशी प्रदेश प्रहरी अस्पताल इनरुवाको सहकार्यमा इटहरी–२० तरहरामा आयोजित गरिएको थियो।
कार्यक्रमका क्रममा यात्रुवाहक सवारीसाधनका चालकहरू सहित २९ जनाको उच्च रक्तचाप, रगत, सुगर तथा लागू पदार्थ (लाप्से) सेवन सम्बन्धी परीक्षण गरिएको प्रहरी स्रोतले जनाएको छ।
जाँचमा यात्रुवाहक सवारीका ४ जना चालक, २ जना सहचालक र २ जना स्कुटर चालक गरी ८ जनाले लागू पदार्थ सेवन गरेको पाइएको छ।
लागूपदार्थ सेवन पुष्टि भएकाहरूविरुद्ध थप अनुसन्धान तथा कानुनी प्रक्रिया इलाका प्रहरी कार्यालय इटहरीमार्फत अघि बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सडक दुर्घटना रोकथामका लागि चालकको स्वास्थ्य अवस्था नियमित परीक्षण गर्नु प्रभावकारी उपाय भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ।
