विराटनगर । मोरङको लेटाङबाट असोज २१ गते वेपत्ता भएकी १३ वर्षीया अंशु गौतम कार्तिक ७ गते मृत अवस्थामा फेला परेपछि पनि घटनामा संलग्नको पहिचान जटिल बन्दै गएको छ। शव भेटिएको २४ दिन बित्दा पनि कुनै प्रत्यक्ष संलग्न पक्राउ नपरेपछि प्रहरी अनुसन्धान थप गहिरिएको छ।
प्रहरीले वेपत्ता हुँदादेखि नै सुरु गरेको अनुसन्धान अहिले ‘पोलिग्राफ परीक्षण’को चरणमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता, प्रहरी नायब उपरीक्षक कोपिला चुडाँलका अनुसार परिवारका सदस्यदेखि अन्य शक्ली व्यक्तिसमेतलाई क्रमशः झूट–सत्य परीक्षणमा सहभागी गराइँदै छ।
यस घटनामा पनि बलात्कारपछि हत्या भएको आशंका प्रबल बन्दै गएको छ। शव अत्यधिक डिकम्पोज अवस्थामा फेला पर्नु, कपडा र शव फरक–फरक स्थानमा भेटिनु, र प्रमाण नष्ट गर्न गरिएको प्रयासले घटना निरमला पन्त हत्या प्रकरणसँग मेल खान थालेको प्रहरीको भनाइ छ।
शव भेटिएको स्थान बेलबारी–चिसाङ साझेदारी वन, अंशु वेपत्ता भएको ठाउँबाट झण्डै चार किलोमिटरभन्दा बढी टाढा पर्छ, जसले अपराधीले भूगोल जान्ने व्यक्ति हुनसक्ने संकेत गर्दछ।
जघन्य प्रकृतिको घटनामा प्रहरीले विशेष टोली परिचालन गर्दै वैज्ञानिक विधिबाट अनुसन्धान अघि बढाइरहेको छ। तर अहिलेसम्म संलग्न पहिचान नहुँदा घटना अझै रहस्यमय बनेको छ।
