काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवको नियुक्तिविरुद्ध दायर गरिएको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नृपध्वज निरौलाको संयुक्त इजलासमा पेसी तोकिएको हो।
संविधानको धारा १६८(३) अनुसार बनेको प्रदेश सरकार असंवैधानिक रहेको दाबी गर्दै मधेस प्रदेशका ७४ जना सांसदले गत मंगलबार रिट दर्ता गराएका थिए। उनीहरूले अन्तरिम आदेशसहित मुख्यमन्त्री नियुक्ति र सरकार गठन प्रक्रियालाई चुनौती दिएका छन्।
यसअघि, न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासले मुख्यमन्त्री यादवलाई दीर्घकालीन प्रभाव पार्ने कुनै पनि नीतिगत निर्णय नगर्न आदेश दिएको थियो। रकी प्रसाद साहले सोमबार दायर गरेको रिटमा सर्वोच्चले यस्तो अस्थायी आदेश जारी गरेको हो।
सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) अनुसार जारी गरिएको अन्तरिम आदेशले मुख्यमन्त्रीलाई निर्णायक नीतिगत कामकाज रोकेको छ। त्यस्तै, रिटको संवेदनशीलता र सार्वजनिक महत्वका कारण सुनुवाइ स्थगित गर्न नपाइने प्रावधानमार्फत नियम ७३ अनुसार मङ्सिर ११ गतेका लागि अन्तिम सुनुवाइ तोकिएको उल्लेख आदेशमा छ।
यस प्रकरणलाई प्रदेश राजनीतिको महत्वपूर्ण मोडका रूपमा हेरिएको छ, जहाँ अदालतको निर्णयले मधेस प्रदेश सरकारको भविष्य निर्धारण गर्नेछ।
