इनरुवा—प्रदेशसभा सचिवालयबाट प्रमुख प्रतिपक्षी दलका नेताका लागि उपलब्ध गराइएको को १ झ ६५० नम्बरको स्कारपिओले बिहीबार दिउँसो मोरङको ग्रामथान–५ मा को ९ प ७९ नम्बरको मोटरसाइकलमा ठक्कर दिँदा ३५ वर्षीय प्रवेश चौधरीको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
प्रारम्भिक अनुसन्धानअनुसार सरकारी गाडी आङ्बोका आफन्तलाई लिन जाँदै गरेको र तीव्र गतिका कारण मोटरसाइकललाई ठक्कर दिएको देखिएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। दुर्घटनापछि घटनास्थलमै नियन्त्रणमा लिइएको चालक पाँचथर फाल्गुनन्द–१ का गम्भीरमान सार्कीलाई हिरासतमा राखarak छानबिन अघि बढाइएको प्रहरीको भनाइ छ।
गम्भीर घाइते भएका चौधरीलाई विराटनगरस्थित विराट नर्सिङ होममा उपचारका लागि लगिएको थियो। तर उपचारकै क्रममा दिउँसो ३ः१५ बजे चिकित्सकले उनलाई मृत घोषित गरे।
स्थानीयवासीका अनुसार स्कारपिओ अत्यधिक गतिमा थियो र नियन्त्रण गुमाएर मोटरसाइकलमा ठोक्किएको हो।
कोशी प्रदेशको प्रमुख प्रतिपक्षी दलको नेतृत्व गर्दै आएका आङ्बो प्रयोग गर्ने सरकारी गाडीसँग जोडिएको यो घटना अहिले प्रदेशभर चासोको विषय बनेको छ।
