सुनसरी — बर्जु गाउँपालिका–१ शुक्रबारेस्थित केशलिया पुल नजिक १८.५८ किलो गाँजासहित एक युवक पक्राउ परेका छन्। लागू औषध तस्करीबारे प्राप्त विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको टोलीले उक्त नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मोरङतर्फबाट पैदल सुनसरीतर्फ आइरहेका एक युवकले चेकजाँच देखेपछि पछाडि बोकेको कालो ब्याग फालेर भाग्ने प्रयास गरेका थिए। त्यसपछि प्रहरीले उनलाई पछ्याउँदै विराटनगर महानगरपालिका–५ रिङरोड क्षेत्रबाट नियन्त्रणमा लियो।
पक्राउ पर्ने युवक बर्जु गाउँपालिका–३ का २२ वर्षीय मुकेश कुमार चौधरी हुन्। प्रहरीले फालिएका दुवै ब्याग खोल्दा प्याक गरिएको अवस्थामा १८.५८ किलोग्राम गाँजा फेला परेको जनाएको छ।
चौधरीलाई बरामद गाँजासहित इलाका प्रहरी कार्यालय दुहबीमा ल्याइएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
