विराटनगर । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते विराटनगर महानगरपालिमा गराइएको आगजनीले करिब एक अर्ब रुपैयाँको क्षति पुर्याएको छ। महानगरको प्रशासनिक भवनदेखि विभिन्न वडा कार्यालयहरू जलेर नष्ट हुँदा संरचना र जिन्सी सामग्रीसहित करिब ९८ करोड ६३ लाख रुपैयाँ बराबरको क्षति भएको आधिकारिक विवरण सार्वजनिक भएको हो।
महानगरका मेयर नागेश कोइरालाका अनुसार मात्रै भौतिक संरचनातर्फ २३ करोड ३७ लाख ५८ हजार रुपैयाँ बराबरको क्षति भएको छ। उक्त क्षतिमा प्रशासनिक भवन र वडा नं. १ देखि १२ र १९ सम्मका कार्यालयहरू पर्दछन्।
यस्तै जिन्सी सामग्रीतर्फ ७५ करोड २५ लाख ६३ हजार रुपैयाँ क्षति भएको छ। स्काभेटर, शववहन, मोटरसाइकल, जेनेरेटर, कम्प्युटर, फर्निचर तथा अन्य उपकरण जलेर पूर्ण रूपमा नष्ट भएका छन्।
आगजनीबाट महानगरले भौतिक क्षतिमा सामना गर्नुपर्ने नै छ, तर विभिन्न शाखाका महत्वपूर्ण कागजात जलेको विषय अझै ठूलो समस्या बनेको मेयर कोइरालाले बताए।
उनका अनुसार घरजग्गा शाखा पूर्ण रूपमा नष्ट भएको छ भने पूर्वाधार शाखाका धेरै कागजात पनि जलेका छन्। कागजात पुनः संकलन र अभिलेख पुनर्निर्माण गर्न मुस्किल परिरहेको उनले बताए।
कागजात अभावमा नागरिकका दैनिक सेवा तथा फाइल प्रक्रिया प्रभावित भएका छन्।
प्रशासनिक भवन र वडाहरू जलेपछि तत्कालीन अवस्थामा उपप्रमुख शिल्पा निराला कार्कीको नेतृत्वमा टेन्टमार्फत सेवा सञ्चालन सुरु भएको थियो। अहिले पनि न्यायिक समितिको इजलास सोमबार र बुधबार टेन्टमै बस्दै आएको छ।
करिब एक अर्ब बराबरको क्षतिले महानगरको आगामी वर्षको विकासकार्यमा ठूलो दबाब पर्ने स्पष्ट देखिएको मेयर कोइरालाले जनाएका छन्।
उनका अनुसार महानगरलाई पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन थप समय र स्रोत लाग्नेछ।
