सुनसरी । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका विभिन्न स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (सीएओ) हरूको ठूलो फेहरिस्तमै हेरफेर गरेको छ। मन्त्रालयको हालैको निर्णयसँगै सुनसरी र मोरङसहित १२ स्थानीय तहका सीएओको सरुवा भएको हो।
सुनसरीका गढी गाउँपालिका र देवाङगञ्ज गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरिएको छ। त्यस्तै, मोरङको लेटाङ नगरपालिकामा समेत प्रशासनिक जिम्मेवारी फेरबदल गरिएको मन्त्रालयले जनाएको छ।
यससँगै सिरहाको सुखीपुर नगरपालिका, नुवाकोटका किस्पाङ गाउँपालिका र मेधाङ गाउँपालिकामा समेत नयाँ प्रमुख प्रशासकीय अधिकृत तोकिएको छ।
सबैभन्दा उच्च तहको दरबन्दी मानिने उपसचिव स्तरका अधिकृतले सम्हाल्ने बाह्रबिसे नगरपालिकामा पनि नेतृत्व हेरफेर गरिएको छ।
त्यस्तै, उपसचिव दरबन्दीकै भीमेश्वर नगरपालिका, मलंगवा नगरपालिका र जिल्ला समन्वय समिति खोटाङमा कार्यरत जिल्ला समन्वय अधिकृतको समेत सरुवा गर्दै मन्त्रालयले व्यापक मानवस्रोत व्यवस्थापन गरेको हो।
प्रशासनिक सेवा प्रभावकारी बनाउने उद्देश्यले गरिएको यो सरुवाले सम्बन्धित स्थानीय तहमा कार्यदक्षता र सेवा प्रवाहमा नयाँ ऊर्जा थपिने अपेक्षा राखिएको छ।
