ईनरुवा । सुनसरीको सदरमुकामसँग जोडिने ईनरुवा नगरपालिका–४ गणेशपुरको मुख्य सडक अविरल वर्षाका कारण पोखरीजस्तो बनेको छ। पानी थामिए पनि सडकमा हिलो र पानीको जमिन नहट्दा स्थानीय बासिन्दा र सवारी चालकहरूलाई आवतजावतमा ठूलो सास्ती भोग्नुपरेको छ।
सडकमा सयौँ मानिस दैनिक रूपमा आवाजाही गर्छन् तर महीनौँ बितिसक्दा पनि सडक मर्मत नहुँदा समस्या झन् गहिरिँदै गएको छ। स्थानीयवासीहरूको भनाइ अनुसार, सडकमा पैदल हिँड्दा जुत्ता फस्ने र सवारी चलाउँदा दुर्घटनाको जोखिम समेत बढेको छ।
स्थानीय हरुका अनुसार, “सडक मर्मतको माग लिएर पटक–पटक जनप्रतिनिधिहरूलाई भनिएको छ तर अहिलेसम्म कुनै पहल भएको छैन। सानो मर्मतका लागि पनि सरोकारवालाको ध्यान नपुगेको हो।”
यसैबीच, स्थानीय बासिन्दाहरूले ईनरुवा नगरपालिकालाई तत्काल सडक मर्मत गरी आवतजावत सहज बनाइदिन आग्रह गरेका छन्। उनीहरूका अनुसार, सडकको दुर्दशा सुधार नगरे वर्तमान अवस्था अझ बिग्रन सक्ने र विद्यालय जाने विद्यार्थीदेखि व्यवसायी सबैलाई समस्या पर्ने देखिएको छ।
