विराटनगर । स्पेन पठाइदिने भन्दै मोरङ, सुन्दरहरैंचा, बेलबारीलगायतका दर्जनौँ परिवारसँग करोडौँ रुपैयाँ ठगी गर्ने कपिलवस्तुका सञ्जीव खरेल नामक व्यक्ति फरार भएका छन्। ‘भिसा आयो’ भन्ने प्रलोभनमा परेका पीडितहरूले अहिले कानुनी कारबाहीको तयारी गरेका छन्।
सुन्दरहरैंचाकी चन्द्रमा खनाल भन्छिन्, ‘डेढ लाखका लुगा किन्न लगायो, अहिले बुझ्दा ठगिएका रहेछौँ।’ उनका छिमेकी निलादेवी खनाल र उनका श्रीमानले छोरी र ज्वाइँलाई विदेश पठाउने आशामा १६ लाख बुझाए। खरेलले उनीहरूलाई दिल्ली र काठमाडौं लगेर १७ दिनसम्म होटलमा राखेपछि सम्पर्कविहीन बने।
बेलबारी–४ का किसान ताराप्रसाद भट्टराईले गाई बेचेर ६ लाख बुझाए भने कतारमा काम गर्ने शशिता दनुवारले सुन बेचेर ८ लाख बुझाइन्। सुन्दरहरैंचाका गोविन्द दहालले पनि स्पेन जाने तयारीमा ९ लाख खर्चे तर न पैसा फिर्ता भयो, न भिसा पाइयो।
खरेलले डिजिटल माध्यममार्फत ठगी सञ्चालन गरेको पाइएको छ। उनले फेसबुक, व्हाट्सएप, भाइबर र टेलिग्राम प्रयोग गरी पीडितहरूसँग सम्पर्क गर्थे। भारतमा समेत आफ्नै नाममा आधार कार्ड बनाएर चलेको प्रमाण पाइएको पीडितहरूको दाबी छ।
पिडितहरूको भनाइअनुसार, उनले सुरुमा सामाजिक सञ्जालमा ‘स्पेन पठाइदिन्छु’ भन्दै प्रस्ताव गर्थे, त्यसपछि ‘भिसा प्रक्रिया सुरु भयो’ भन्दै दिल्ली वा काठमाडौं बोलाउने, अन्त्यमा फेक अन्तर्वार्ता र भिसा देखाउने नाटक गरेर पैसा उठाउने गर्थे।
हाल पीडितहरूले सामूहिक रूपमा वैदेशिक रोजगार विभागमा उजुरीको तयारी गरिरहेका छन्। ‘पैसा त गयो, तर अरू नफसुन् भन्ने चाहना छ,’ राजकुमार कार्की भन्छन्।
शशिता दनुवार थप्छिन्, ‘हामीले विदेशमा दुःख गरेर पठाएको पैसा ठगले लुटे, अब न्याय मात्र चाहिएको छ।’
यस घटनाले वैदेशिक रोजगारीका नाममा भइरहेका ठगी प्रवृत्तिप्रति प्रशासनको निगरानी अभाव देखाएको छ।
