इनरुवा — जनताको दुःखसुखमा साथ दिने, पीडितका आवाज सुन्ने र तत्कालीन समस्या समाधानमा अग्रसर प्रहरी नायब उपरीक्षक (डिएसपी) योगराज खतिवडा अचानक सरुवा भएपछि सुनसरीका स्थानीयवासी र सेवा उपयोगकर्ताबीच खिन्नता र असन्तोष व्यक्त गरिएको छ।
करिब सात महिनाको छोटो अवधिमा उनले जिल्ला प्रहरी कार्यालय सुनसरीमा जनमुखी प्रशासनिक नेतृत्व प्रदर्शन गर्दै प्रहरी सेवाप्रति नागरिकको विश्वास पुनःस्थापना गर्न सफल भएका थिए। अपराध नियन्त्रणदेखि सामाजिक सद्भाव कायम गर्नसम्म खतिवडाको योगदान उल्लेखनीय मानिएको छ।डिएसपी खतिवडा कार्यालयभित्र सीमित नभई गाउँगाउँ, बस्तीबस्तीमा पुग्ने अधिकारीका रूपमा चिनिन्थे। कुनै घटना, विवाद वा समस्या उत्पन्न भए तुरुन्त घटनास्थलमा पुगेर समाधान गर्ने उनको शैली जनतामाझ लोकप्रिय थियो। स्थानीयवासीहरू भन्छन्—“खतिवडा सरले कुरा बुझ्थे, सुन्थे र तत्काल कदम चाल्थे। प्रहरी जनताको साथी हो भन्ने महसुस उहाँले गराउनुभयो।”उनले विशेषगरी गरिब, असहाय र पीडित परिवारका मुद्दा प्राथमिकतामा राख्थे। प्रहरी सेवालाई पहुँचमा ल्याउने, बलजफ्तीभन्दा संवाद र सहकार्यमा जोड दिने उनको कार्यशैलीले प्रहरी संगठनलाई सकारात्मक सन्देश दिएको स्थानीय सामाजिक अभियन्ताहरूको भनाइ छ।खतिवडाको सरुवा ‘नियमित प्रक्रिया’ भएको भनिए पनि प्रहरी वृत्तमा यसलाई हतारमा गरिएको निर्णयका रूपमा लिइएको छ। केही स्रोतका अनुसार उनको सक्रियता, जनतासँगको नजिक सम्बन्ध र सिधा कार्यशैलीले केही अधिकारीहरू असहज बनेका थिए।स्थानीय नागरिकहरूले सामाजिक सञ्जालमा समेत खतिवडाको सरुवाप्रति असन्तोष जनाउँदै “जनताको आवाज सुन्ने प्रहरी हटाइयो” भन्ने टिप्पणी गरेका छन्। एक स्थानीय व्यवसायीले भने, “हामीले प्रहरीमा पहिलो पटक न्यायको अनुभूति पाएका थियौं, तर त्यो अधिकारीलाई नै सरुवा गरियो।”
डिएसपी योगराज खतिवडाको सरुवा प्रशासनिक दृष्टिले सामान्य प्रक्रिया भए पनि, जनताका दृष्टिमा यो एक जनसेवक प्रहरी अधिकारीको असमयको सरूवा भएको कारण स्थानीयहरूमा आक्राेश छाएको छ । सुनसरीमा उनले सुरू गरेको जनमुखी प्रहरी प्रणाली र सेवाभावना अबको नेतृत्वले निरन्तरता दिने कि भन्ने प्रश्न खुलेको छ
