इटहरी- जेनजी आन्दोलनका क्रममा आगलागीले भवन जलेर क्षतिग्रस्त भएपछि ६२ दिनदेखि वैकल्पिक स्थानबाट सेवा दिँदै आएको इलाका प्रहरी कार्यालय इटहरी अब नयाँ स्थानमा सरेर रंगशालाभित्रको अस्थायी भवनबाट औपचारिक रूपमा सेवा सञ्चालनमा आएको छ।
प्रहरीका अनुसार नयाँ अस्थायी कार्यालय पुरानो भवन र तरहरा प्रहरी चौकीको संरचनाभन्दा फराकिलो, व्यवस्थित र आधुनिक सुविधा सम्पन्न छ। डीएसपी सुवास हमालका अनुसार कार्यालयमा १५० जना थुनुवा राख्न सकिने क्षमता भएको हिरासत कक्ष निर्माण गरिएको छ। साथै, सबै शाखा र विभागका लागि अलग–अलग कोठा व्यवस्था गरिएको छ।
हमालले केही दिनभित्रै कार्यालयको औपचारिक उद्घाटन कार्यक्रम गर्ने तयारी भइरहेको बताए।
भदौ २४ गतेको आन्दोलनमा भवनमा आगलागी भएपछि इटहरी प्रहरीले तरहरा प्रहरी चौकीबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको थियो।
स्थानीय स्तरमा सहयोग जुटाउनका लागि वडा नं. ९ का वडाध्यक्ष जीतेन्द्र थापाको संयोजकत्वमा सहयोग समिति गठन गरिएको थियो। समितिमा वडा नं. ८ का अध्यक्ष रोहित चौधरी, वडा नं. १० का अध्यक्ष अवधेश कुमार चौधरी, अनुरोध थापा र पूर्व नागरिक समाज अध्यक्ष सन्त डुम्जन सदस्यका रूपमा रहेका छन्।
यो नयाँ संरचना सञ्चालनमा आएसँगै इटहरीका स्थानीयले सुरक्षा सेवामा सहजता र पहुँच सुधार हुने अपेक्षा गरेका छन्।
