इटहरी — कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको निर्देशनमा सञ्चालन भइरहेको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरमा अवैध रुपमा खेती गरिएका ठूलो मात्राका गाँजाका बोट फडानी गरी नष्ट गरिएको छ।
धनकुटाको शहीदभूमी गाउँपालिका–५ मा करिब पाँच रोपनी क्षेत्रफलमा रोपिएका करिब १० हजार गाँजाका बोट इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले फडानी गरेको जनाएको छ।
त्यस्तै, इलाका प्रहरी कार्यालय राजारानीको टोलीले चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा करिब तीन रोपनी जग्गामा उम्रिएका ४ सय बोट गाँजा नष्ट गरेको हो।
उता भोजपुरमा इलाका प्रहरी कार्यालय घोडेटार, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको संयुक्त टोलीले हतुवागढी र आम्चोक गाउँपालिकाका विभिन्न वडामा अवस्थित करिब १० रोपनी क्षेत्रफलमा रहेका करिब १ हजार ५० बोट गाँजा फडानी गरी आगो लगाएर नष्ट गरेको जनाएको छ।
प्रहरीका अनुसार अवैध गाँजा खेती नियन्त्रण तथा मादक पदार्थ दुरुपयोग रोकथामका लागि प्रदेशभर निरन्तर रूपमा अभियान सञ्चालन भइरहेको छ।
