विराटनगर — विराटनगरको सबैभन्दा व्यस्त व्यापारिक मार्ग तीनपैनीदेखि पुष्पलाल चौकसम्मको सडक अहिले जीर्ण बनेको छ। ठाउँ–ठाउँमा खाल्डा परेपछि सवारीसाधन गुडाउनै कठिन भएको छ भने दुर्घटनाको जोखिम समेत उच्च भएको छ।
दैनिक सयौं साना–ठूला सवारीसाधन गुड्ने यो मार्ग विगत केही महिनादेखि बिग्रँदै आएको स्थानीयहरू बताउँछन्। तर, मर्मत–सम्भारमा महानगरपालिकाको ध्यान नपुगेको भन्दै उनीहरूले असन्तोष प्रकट गरेका छन्। स्थानीय तोया ढकालका अनुसार, “सडकमा खाल्डा मात्र होइन, धुलोले पनि जीवन कष्टकर बनेको छ। साना गाडीहरू पटक–पटक पल्टिन्छन्।”
सिटी सफारी चालक राजकुमारले पनि त्यस्तै गुनासो गर्दै भने, “कयौं ठाउँमा सडक यति बिग्रिएको छ कि गाडी पल्टिने डर हुन्छ। मर्मत नगर्दा सवारी साधनमा पनि क्षति पुग्ने गरेको छ।”
विराटनगर–३ का विद्यार्थी सफल थापा र मनिष घतानेले सडकमा भएका गहिरा खाल्डा र जीर्ण जेब्राक्रसका कारण दैनिक विद्यालय जान कठिनाइ हुने बताउँदै वडा कार्यालयमा निवेदन समेत दिएका छन्।
शहरी विकास तथा पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापाका अनुसार, सो सडक एडीबी (ADB) परियोजनाअन्तर्गत निर्माण भएको हो र हाल मर्मतका लागि ठेक्का सम्झौता भइसकेको छ।
“केही भागमा मर्मत कार्य सम्पन्न भइसकेको छ, बाँकी स्थानमा काम जारी छ,” प्रमुख थापाले बताए, “दुईदेखि तीन महिनाभित्र सम्पूर्ण मर्मत कार्य पूरा हुनेछ।”
तर, स्थानीयवासीहरूले भने तत्काल अस्थायी रूपमा भए पनि खाल्डा पुरेर सडक सहज बनाउन महानगरसँग आग्रह गरेका छन्।
महानगरले तत्कालिक राहतस्वरूप अस्थायी मर्मत नगरेसम्म यो मार्ग प्रयोग गर्ने यात्रु र चालकलाई निरन्तर जोखिममा रहनुपर्ने देखिन्छ।
