विराटनगर — विराटनगर महानगरपालिकाले गाई र भैंसीमा निःशुल्क खोप अभियान सुरु गर्दै महानगरलाई “खोरेत रोगमुक्त पालिका” बनाउने लक्ष्य सार्वजनिक गरेको छ।
कोशी प्रदेश सरकारको उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गतको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङको सहकार्यमा सुरु गरिएको यो अभियानबाट विराटनगरमा खोरेत रोग अन्त्य गर्ने दाबी गरिएको छ।
विराटनगर–१२ स्थित बञ्जरा एग्रो फार्ममा औपचारिक रूपमा सुरु गरिएको कार्यक्रममा वडा नं. १९ का अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेको अध्यक्षतामा गाईलाई खोप लगाएर अभियानको शुभारम्भ गरिएको हो।
भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मोरङका प्रमुख डा. अजयकुमार साहका अनुसार महानगरभित्र २१ हजार ६ सय गाई–भैंसी छन्। पहिलो चरणमा १६ हजार ६ सय चौपायालाई खोरेतविरुद्ध निःशुल्क खोप लगाइने र सम्पूर्ण तथ्यांक डिजिटल प्रणालीमा अभिलेख गरिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
डा. साहका अनुसार मोरङ जिल्लाभरका लागि ३ लाख ८० हजार डोज खोरेत खोप र बंगुरका लागि ५६ हजार डोज खोप वितरण गरिने लक्ष्य राखिएको छ।
कोशी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा. सुशीलकुमार अधिकारीले प्रदेशका १३७ पालिकामा यो अभियान विस्तार गरिने जनाए। उनका अनुसार इलाम जिल्ला पहिले नै खोरेतमुक्त घोषणा भइसकेको छ भने झापा, मोरङ, सुनसरी र उदयपुरमा पनि अभियान तीव्र गतिमा अघि बढाइँदैछ।
“निकट भविष्यमा कोशी प्रदेशलाई पूर्ण रूपमा खोरेत रोगमुक्त बनाउने हाम्रो लक्ष्य हो,” डा. अधिकारीले भने, “यसले पशु स्वास्थ्य सुधारसँगै कृषकको आर्थिक सुरक्षा सुनिश्चित गर्नेछ।”
पशुपन्छी विकास महाशाखाकी प्रमुख डा. दीपा दिवालीले यो अभियानले किसानको हानी घटाउने र प्रदेशभर स्वस्थ पशुपालनको वातावरण बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गरिन्।
महानगरको कृषि तथा पशुपन्छी विकास शाखाका प्रमुख हीरा यादवले १९ वटै वडामा खोप कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउँदै कृषकलाई सक्रिय सहभागिताको आग्रह गरे। वडा नं. १२ का कार्यबाहक अध्यक्ष कुशेश्वर राजवंशीले प्रत्येक वर्ष खोरेतका कारण ठूलो आर्थिक क्षति बेहोर्ने किसानका लागि यो अभियान राहत साबित हुने बताए।
कोशी प्रदेश सरकारले दीर्घकालीन रूपमा सम्पूर्ण जिल्लालाई खोरेतमुक्त घोषणा गर्ने योजना अघि बढाएको छ।
