धनकुटा — गत वर्षको उच्च आम्दानीपछि उत्साहित बनेका अकबरे खुर्सानी किसानहरू यस वर्ष भने बजारमा मूल्य घटेपछि निराश भएका छन्। थलथल, जोरपाटी, पाख्रीबासलगायतका क्षेत्रका किसानहरू उत्पादन राम्रै भए पनि मूल्य घटेकै कारण लगानी उठाउन नसकेको बताउँछन्।
थलथल जोरपाटी गाउँपालिका–४ का किसान प्रदीप ओझाले पाँच रोपनी खेतमा तीन हजार बोट अकबरे लगाएका थिए। गत वर्ष प्रतिकिलो तीन सयदेखि चार सय रुपैयाँमा बिक्री हुने अकबरे अहिले एक सयदेखि एक सय पचास रुपैयाँमै बेच्नुपरेको उनले बताए।
“बजारमा अकबरे नामका विभिन्न प्रजाति भित्रिएपछि वास्तविक धनकुटे अकबरेको मूल्य घटेको हो,” ओझाको भनाइ छ।
जंगली जनावरले अन्य बाली नष्ट गरेपछि वैकल्पिक रूपमा अकबरे खेती रोजेका किसानहरू अहिले घट्दो मूल्यले चिन्तित छन्। उत्पादन बढे पनि बजार अभाव र सरकारी समर्थन नहुँदा लागतसमेत उठ्न गाह्रो भएको उनीहरूको गुनासो छ।
गत वर्ष व्यापारीहरू घरमै आएर खरिद गर्ने गरेकामा अहिले उत्पादन प्रशस्त भए पनि खरिदकर्ता कम छन्। किसानहरूका अनुसार बजार विस्तार, प्रशोधन र भण्डारणमा सरकारको ध्यान नदिँदा वर्षेनि यस्तै समस्या दोहोरिने जोखिम छ।
पाख्रीबास नगरपालिका–७ का किसान भूपाल थापाले भने, “गत वर्षको तुलनामा यो वर्ष आधा मूल्यमा बेच्नुपर्दा ठूलो घाटा बेहोर्नु परेको छ।”
कृषि ज्ञान केन्द्र धनकुटाका अनुसार हाल करिब ८० हेक्टर क्षेत्रमा अकबरे खुर्सानीको व्यावसायिक खेती भइरहेको छ। आर्थिक वर्ष २०८०/८१ मा ९७३.१५ मेट्रिक टन उत्पादन भएकोमा यो वर्ष घटेर करिब ८ सय मेट्रिक टनमा सीमित भएको केन्द्रका सूचना अधिकारी रत्न ठाडा मगरले जानकारी दिए।
किसानहरूले अकबरेको प्रशोधन र अचार उद्योग स्थापना तथा बजार स्थायित्वका लागि स्थानीय र प्रदेश सरकारसँग सहकार्यको माग गरेका छन्। उनीहरूको भनाइमा, मूल्य अस्थिरता र सरकारी समर्थनको कमीले कृषकको लगानी जोखिममा पर्ने अवस्था बनेको छ।
