विराटनगर — मोरङको कटहरी गाउँपालिका–१, जम्टोकीस्थित पाँच बिघा दुई धुर क्षेत्रफलमा निर्माण भएको एकीकृत तरकारी तथा फलफूल बजार अब कोशी प्रदेशसभाको अस्थायी कार्यस्थल बन्ने भएको छ। संघीय सरकारको १७ करोड लगानीमा २०७५ सालमा बनेको यो संरचना निर्माणपछिदेखि प्रयोगविहीन अवस्थामा थियो।
फेडरल सरकारले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत २०७५ चैत ३ गते प्रदेश सरकारका तत्कालीन मुख्यमन्त्री शेरधन राईलाई हस्तान्तरण गरेको यो संरचना तरकारी कारोबारका लागि कहिल्यै प्रयोग हुन सकेन। गाउँपालिकाले साप्ताहिक हाट, कोल्डस्टोर र निजी भाडामा लगाउने प्रयास गरे पनि असफल रह्यो।
अब भने जेनजी आन्दोलनका क्रममा जलेर प्रयोगविहीन बनेको विराटनगर–७ देवकोटाचोकस्थित पुरानो प्रदेशसभा भवनको विकल्पस्वरूप यही भवन प्रयोगमा ल्याइने भएको हो। आन्तरिक मामिला तथा कानुन मन्त्री तथा सरकारका प्रवक्ता रेवतीरमण भण्डारीका अनुसार आइतबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे औपचारिक निर्णय गर्ने तयारी गरेको छ।
प्रदेशसभा सञ्चालनका लागि आवश्यक पूर्वाधार तयारी सुरु भइसकेको छ। परिसरमा प्रशासनिक भवन, ३२ थोक र ३२ खुद्रा पसल, क्यान्टिन, हेल्थ क्लिनिक, बैंक, गोदाम, सुरक्षाकर्मी पोष्ट, सार्वजनिक शौचालय, लोड–अनलोड क्षेत्रलगायतका संरचना छन्। साथै, सीसीटीभी, जेनेरेटर र सोलार प्रणालीसमेत जडान गरिएको छ।
तरकारी बजारका लागि बनेको यो भवन अब प्रदेशसभा सञ्चालनका लागि प्रयोगमा आउँदैछ, जसले लामो समयदेखि निष्क्रिय रहेको सरकारी लगानीलाई पुनः सक्रिय बनाउने देखिएको छ।
