सुनसरी । जिल्ला होटल तथा पर्यटन व्यवसायी संघ सुनसरीको आयोजना तथा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (UNDP)को सहकार्यमा २५ दिने निःशुल्क ‘बरिष्टा तालिम’ इटहरीमा सुरु भएको छ।
दीगो पर्यटन परियोजना (STP) अन्तर्गत सञ्चालित यो तालिमले स्थानीय युवाहरूमाझ कफीका विविध परिकार बनाउने सीप र होटल व्यवसायसँग सम्बन्धित व्यावसायिक ज्ञान प्रदान गर्ने उद्देश्य राखेको संघले जनाएको छ।
उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष तेजबहादुर गिरीले नेपाल पर्यटन बोर्ड र यूएनडीपीको सहयोगले स्थानीय युवालाई दक्ष र आत्मनिर्भर बनाउन सहयोग पुगेको बताए। “यस्ता तालिमहरूले होटल व्यवसायको स्तर उकास्न र पर्यटन विकासमा ठोस योगदान पुर्याउँछन्,” उनले भने।
संघका महासचिव कृष्ण पराजुलीले बरिष्टा तालिमलाई दीगो रोजगार सिर्जनाको अवसरका रूपमा लिँदै सहभागी युवालाई लगनशीलताका साथ सिप सिक्न आग्रह गरे।
नेपाल पर्यटन बोर्डकी वरिष्ठ अधिकृत सुशीला कुमारी बरालले २५ दिने तालिमले सहभागिहरूको क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिन्। उनका अनुसार, “सिकेको सीपले होटल व्यवसाय र पर्यटन प्रवर्द्धनमा दीर्घकालीन प्रभाव पार्नेछ।”
त्यस्तै, इटहरी उपमहानगरपालिका–९ का वडा अध्यक्ष जितेन्द्र थापाले कफी संस्कृतिको बढ्दो लोकप्रियतालाई ध्यानमा राख्दै तालिमले युवालाई उद्यमशील र आत्मनिर्भर बन्न प्रेरित गर्ने बताए।
२५ दिनसम्म सञ्चालन हुने यस तालिममा सहभागीहरूले कफीका विविध परिकारहरूको तयारी, प्रस्तुति र सेवा सम्बन्धी सीप सिक्नेछन्। आयोजक संघका अनुसार, यस्ता सीपमूलक तालिमहरूले स्थानीय तहमा रोजगारीका अवसर बढाउँदै पर्यटन व्यवसायको गुणस्तर सुधारमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
