काठमाडौं । काठमाडौं महानगरपालिकाले करार सेवामा विभिन्न पदका लागि कर्मचारी दरखास्त आह्वान गरेको छ। महानगरले योग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ।
महानगरका अनुसार बागमती प्रदेश सरकारद्वारा जारी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ र काठमाडौं महानगर सेवा करारमा कर्मचारी पदपूर्ति कार्यविधि, २०७९ अनुसार आवेदन माग गरिएको हो।
महानगरले नगर प्रहरी जवान (अग्नि नियन्त्रक), हलुका सवारी चालक र कार्यालय सहयोगी गरी तीन पदका लागि दरखास्त आह्वान गरेको छ। ती पदमा कुल ४४ जना करारकर्मी आवश्यक रहेको जनाइएको छ।
आवेदनकर्ताले तोकिएको योग्यता र अनुभवका प्रमाणपत्रसहित तोकिएको समयभित्र आवेदन फारम बुझाउनुपर्ने महानगरपालिकाले जनाएको छ।
